पूर्वमन्त्रीदेखि चियामा सरोकार राख्ने निकाय

95

इलाम । नेपाली चियाको मुख्य बजार भारतले चिया निर्यातमा झन्झट थप्न लागेको भन्दै अर्थोडक्स चियाको राजधानी भनिने इलामका जनप्रतिनिधि र चिया उद्यमी चिन्तित बनेका छन्। उनीहरू प्रधानमन्त्री, पूर्वमन्त्रीदेखि चियामा सरोकार राख्ने निकायको ढोका ढकढक्याउन व्यस्त छन्।

मंगलबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौलासहित सूर्योदयका मेयर रणबहादुर राई, सूर्योदय टी प्रोड्युर्सस एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठ रहेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ। भारतले नेपाली चियामा लगाउन लागेको करलगायत समस्या विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको टोलीमा सहभागी श्रेष्ठले बताए। ‘सरकार स्तर (जीटूजी) बाट पहल गरी चियाको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘कृषकको समस्या समाधानमा उहाँले तत्काल पहल थाल्ने आश्वासन दिनु भएको छ।’

नेपालको ९० प्रतिशत अर्थोडक्स चिया इलाममा उत्पादन हुने गर्दछ। भारतले नेपाली चियालाई करको दायरमा ल्याउन पहल गरिरहेको र त्यसलाई रोक्न पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको एसोसिएसनका कोषाध्यक्ष महेश अर्यालले जानकारी दिए।

नेपाली चिया गुणस्तरहीन र कम मूल्यका कारण भारत र विश्व बजारमा नेपाली चियाले असर गरेकोलगायतका आरोप लगाउँदै भारतका ३० सांसदले राज्यसभा अध्यक्ष र लोकसभाका अध्यक्षलाई प्रतिवेदन दिएपछि नेपाली चिया प्रशोधनकर्ता र चिया उत्पादक कृषक चिन्तित बनेको सूर्योदयका मेयर रणबहादुर राईले बताए। उनले भने, ‘नेपालको चियालाई भारतको बजारमा ४० प्रतिशतभन्दा माथि कर लगाउने कुरा भारतको लोकसभामा र राज्यसभामा उठेको छ।’

इलाममा १३ हजार हेक्टरमा चियाको खेती भइरहेको छ। इलाममा अर्थोडक्स, ग्रिन र स्पेस चियाको उत्पादन हुने गरेको छ। यस चिया खेतीमा १६ हजार किसानको संलग्नता रहेको छ। ८० हजारभन्दा बढीलाई ग्रामीण रोजगारी प्रदान गरेको छ। इलाममा १ सय ५० भन्दा बढी उद्योग छन्। वार्षिक उत्पादन ६० लाख किलो रहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए।  मेयर राईका अनुसार भारतको प्रयास सफल भएमा नेपाली चियालाई भारतीय बजारमा बिक्रीका लागि ठूलो चुनौती आउनेछ। उनले भने, ‘यसले इलामबाहेक झापामा उत्पादन हुने २ करोड २० लाख किलो चिया पनि प्रभावित हुनेछ।’

इलामले विश्व बजारलाई चाहिने सबैखाले अर्थोडक्स, ग्रिन तथा स्पेसल टी उत्पादन गरेर भारतलगायत अन्य देशमा बिक्री गरिरहेको छ। टोलीले प्रधानमन्त्रीसँगको भेटमा नेपाली चियाको प्रमुख बजार भारत भएको र भारतीय चिया निकायले अनेक बहाना बनाई विभिन्न समयमा नेपाली चियालाई निरुत्साहित गर्न समस्या उत्पन्न गर्दै आएको जानकारी गराएको छ। एसोसिएसनले भनेको छ, ‘हालै मात्र भारतको राज्य सभा र लोकसभामा नेपाली चियालाई करको दायरमा ल्याउन पहल भइरहेको र विश्व प्रख्यात नेपाल चियालाई गुणस्तरहीन तुल्याउँदै आयातलाई अवरोध गर्न भारतको चिया निकाय सक्रिय रूपमा पेस भइरहेका छन्।’

शतप्रतिशत कर छुटमा भारत निर्यात भइरहेको नेपाली चियालाई करको दायरामा ल्याउने र विभिन्न मापदण्ड पालना गराई आयात गर्न लगाउनेसम्मको एजेन्डा भारतीय संसद्मा पेस भई पारित हुने क्रममा रहेको कार्यक्रममा जानकारी गराइयो। उक्त एजेन्डा पारित भएमा नेपालको १३ प्रतिशत व्यापार घाटा पूर्ति गर्दै आएको चिया खेतीमा आधारित उद्योग बन्द हुने र ठूलो लगानी धराशायी हुने जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here