विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहीन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेस गरेको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कूटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि व्यवसायीहरूले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
चिया भारत निर्यात नभएमा १५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीहरूको चिन्ता छ । उनीहरूले राष्ट्रको ठुलो लगानी धराशायी हुने, चिया खेतीमा आश्रित २६ हजार कृषकहरू आयविहीन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने भयावह स्थितिको सिर्जना हुने पनि निष्कर्ष निकालेका छन् ।
इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाको रूपमा रहेको छ । कुल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भई अर्थोडक्स, ग्रिन र स्पेशल चियाको उत्पादन हुने गरेको छ ।
त्यस्तै, चिया खेतीमा २६ हजार कृषकहरूको संलग्नता रहेको र ८० हजार भन्दा बढीले ग्रामीण रोजगारी पाएको व्यवसायीहरूको भनाई छ । पत्रकार सम्मेलनमा सूर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठ, सदस्य सुमित श्रेष्ठ, कोषाध्यक्ष महेश अर्याल, सल्लाहकार पुनम राई र नेपाली काँग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काले भारतको कारण व्यवसायीहरू मर्कामा परेको आफूहरूको मर्का बुझ्न आग्रह गरेका छन् । उनीहरूले तत्काल आफूहरूको माग पूरा गर्नको लागि सरकारले पहलकदमी लिओस् भन्ने धारणा राखेका थिए ।


















