रुसका राष्ट्रपतिले उत्तर कोरियासँग रचनात्मक सम्बन्ध विस्तार गर्ने

95

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्।

उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा हुने बताए। त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन्।

उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

मस्को (प्योङ्याङ सम्बन्ध कस्तो छ  ?

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार पुटिनले द्विपक्षीय सम्बन्धको विस्तारले दुई देशका स्वार्थहरूको जगेर्ना गर्ने धारणा राखेका थिए।

आफ्नो पत्रमा किमले रुस(उत्तर कोरियाको मित्रताले जापानविरोधी युद्धमा आकार ग्रहण गरेको र त्यो अझ समृद्ध र विकसित भएको धारणा राखेका थिए।

उक्त पत्रमा दुई देशबीचको ‘रणनीतिक र कार्यनीतिक साझेदारी, समर्थन र ऐक्यबद्धता’ नयाँ उचाइमा पुगेको र ‘साझा मोर्चामा देखिएको साझेदारीले शत्रु फौजको सैनिक जोखिम र उत्तेजनालाई’ कमजोर बनाएको जनाइएको छ।

प्योङ्याङले शत्रु फौजको नाम लिएको छैन तर उसले उक्त शब्दावली पटक पटक अमेरिका र उसका साझेदारलाई जनाउन प्रयोग गर्दै आएको छ।

सोभियत सङ्घ कुनै बेला उत्तर कोरियाको प्रमुख साझेदार रहेको थियो र उसले प्योङ्याङलाई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान र वैदेशिक सहयोग उपलब्ध गराउने गर्थ्यो।

तर उक्त सम्बन्ध सोभियत सङ्घको विघटनसँगै खस्किएको थियो र सन् २००० को दशको सुरुमा पश्चिमा जगतसँग रुसको सम्बन्ध चिसिँदै गएपछि बिस्तारै उक्त सहकार्य अघि बढेको थियो।

गएको जुलाईमा रुसले पूर्वी युक्रेनमा रहेका दुई पृथकतावादी राज्यलाई स्वतन्त्र घोषणा गरेपछि तिनलाई आधिकारिक रूपमा मान्यता दिने थोरै देशहरूमध्ये उत्तर कोरिया पनि एउटा थियो।

त्यसको बदलामा आफ्नो भूभागमा रुसी अतिक्रमणको विरोध गरिरहेको युक्रेनले प्योङयाङसँग सबै सम्बन्ध कटौती गर्ने निर्णय लिएको थियो। बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here