१० ब्रोकरले केही दिनमै कारोबार सुचारु गर्ने

112

नेपाल धितोपत्र बोर्डले १० ब्रोकर कम्पनीको १५ शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले शाखा विस्तार गरेका १० ब्रोकर कम्पनीलाई बुधबार पत्र पठाएर शाखामा कारोबार सुचारु गर्न लिखित अनुमति दिएको हो ।बोर्डले अनलाइन सेक्युरिटिज प्रालिलाई दुईवटा, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिलाई दुईवटा, दीपशिखा धितोपत्र कारोबार कम्पनीलाई तीनवटा शाखा खोल्नका लागि अनुमति दिएको छ ।

त्यसैगरी, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनीले दुई स्थानमा, सेक्योर्ड सेक्युरिटिजले एक स्थानमा, त्रिशूल सेक्युरिटिज प्रालिले एक स्थानमा र अक्सफोर्ड सेक्युरिटिज प्रालिलाई एक स्थानमा, दिव्य सेक्युरिटिज एन्ड स्टक हाउस प्रालिलाई एक स्थानमा, जेएफ सेक्युरिटिज कम्पनीलाई एक स्थानमा र डाइनामिक मनी म्यानेजर्स प्रालिलाई एक स्थान गरी १५ स्थानमा शाखा विस्तारको अनुमति दिएको छ । बोर्डको पत्र पाएसँगै शाखा स्थापना गरेका १० ब्रोकरले केही दिनमै कारोबार सुचारु गर्ने बताएका छन् ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले करिब डेढ दर्जन शाखा स्थापनाका लागि सैद्धान्तिक सहमति दिएका थिए । ढुंगाना विवादमा तानिएपछि रोकिएको उक्त प्रक्रियालाई नयाँ अध्यक्ष रमेशकुमार हमाल नियुक्त भएसँगै अगाडि बढाइएको हो । अनुमति पाएका १० ब्रोकरको १५ शाखालाई असारमै अबलोकनको सकाएर बुधबार औपचारिक कारोबारका लागि अनुमति दिएको धितोपत्र बोर्डका सूचना अधिकारी अम्बिका गिरीले जानकारी दिए । ‘शाखा विस्तारको अनुमति पाएका ब्रोकर कम्पनीलाई औपचारिक पत्र पठायौँ, अब कारोबार सुचारु गर्न सक्नेछन्,’ उनले भने ।

सेयर बजारको पहुँच नपुगेको ठाउँमा विस्तार गर्न शाखा सञ्चालनको अनुमति दिएको बोर्डका अध्यक्ष हमालले बताए । उनले भने, ‘प्रस्ताव धेरै आए पनि आवश्यकताका आधारमा र पहुँच नपुगेको ठाउँमा बजार विस्तारका लागि दिइएको हो ।’०७६ सालअघि नेपाल स्टक एक्सचेन्ज आफैँले ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले १७ जिल्लामा ४१ शाखा सञ्चालनका लागि अनुमति दिइसकेको थियो ।

‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफूमातहत ल्याएपछि अहिले बोर्डबाटै अनुमति दिँदै आएको छ । यसरी १ फागुन ०७६ मा बोर्ड आफैँले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको हो । सोही व्यवस्थाबमोजिम पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको पालामा थप ६ वटा शाखा सञ्चालनका लागि बोर्डले अनुमति दिएको थियो । पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको पालामा १४ वटा ब्रोकरलाई २३ वटा शाखा स्थापनाका लागि प्रक्रिया सुरु गरिएको थियो । जसअनुसार चारवटा ब्रोकरले सात स्थानमा शाखा सञ्चालनका लागि अनुमति पाइसकेका छन् ।

बोर्डमा एक सय ४६ वटा शाखाका लागि आवेदन प्राप्त भएको र आवश्यक प्रक्रिया पु¥याएको१० ब्रोकरलाई १५ वटा शाखा विस्तार अनुमति दिएको छ । थप १० ब्रोकर कम्पनीले अनुमति पाएसँगै नेपालभर ब्रोकर शाखाको संख्या ७४ पुगेको हो । त्यसमध्ये ५० ब्रोकर कम्पनीसहित नेपालमा ब्रोकरको संख्या एक सय २४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here