प्राधिकरणले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन

61

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले मंगलबार प्राधिकरण परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले चार्जिङ स्टेशन निर्माण अगाडि बढाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन्।

हाल नेपाल आयल निगमले बिक्री पर्ने पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८० छ। यस आधारमा पेट्रोलियम सवारीसाधनको प्रतिकिलोमिटर लागत २० रुपैयाँ बराबर पर्न जान्छ। तर विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको तुलनामा असाध्यै न्यून छ।

दुई महिनाभित्रै सञ्चालनमा आउँदै सबै चार्जिङ स्टेशन

प्राधिकरणले देशभरका ५१ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। आगामी दुई महिनाभित्र सबै चार्जिङ स्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग पनि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिँदै सबै क्षेत्रको साथ र सहयोगमा वातावरणको संरक्षण तथा बिजुली खपत अभियानसमेत अगाडि बढ्ने बताए।

देशको प्रमुख सहर तथा राजमार्गमा द्रुत सवारी चार्जिङ स्टेशनको स्थापना गरिनु आफैँमा सकारात्मक हस्तक्षेप भएको उनको भनाइ छ। प्राधिकरणले स्थापना गर्न लागेको चार्जिङ स्टेशनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान हुनेछ।

एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुनका लागि बढीमा डेढ घण्टासम्म लाग्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

चार्जिङका लागि आवश्यक प्रणालीको विकास गरिएको छ। त्यसमार्फत उपभोक्ताले अनलाइन बुकिङसमेत गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीका लागि प्राधिरकणको मोबाइल एप प्रयोग गर्न सकिनेछ।

डेढ घण्टामा पूर्ण चार्ज

प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशनको क्षमता ६० किलोवाट डिसी र २२ किलोवाट एसी रहेको छ। यद्यपि एक सय २० किलोवाट डिसीसम्म चार्ज गर्न सकिनेछ। नेपालमा उपलब्ध भएका सवारीसाधनमा रहेको व्याट्रीको क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि डेढ घण्टासममा पूर्णरूपमा चार्ज हुनेछ।

चार्जिङ स्टेशन निर्माणका संलग्न थ्री गो कम्पनीका कार्यकारी अध्यक्ष राजन रायमाझीले प्रतिचार्जिङ स्टेशन रु ८० लाख लागत लागेको जानकारी दिए।

प्राधिकरणले प्रतिचार्जिङ स्टेशन निर्माणका लागि एक करोड २० लाख बराबरको बोलपत्र गरेको भए पनि सो कम्पनीले ८० लाखमा ठेक्का पाएको हो। दिगो भनेरसमेत चिनिने सो कम्पनीले चीनको वाङव्याङ कम्पनीको स्टार चार्जर भित्र्याएको छ। कम्पनीले देशका अन्य आठ स्थानमा आफ्नै लगानीमा चार्जिङ स्टेशनसमेत निर्माण गरिसकेको छ।

प्राधिकरणको लगानी रहेको बल्खु, साझा यातायात, नक्साललगायतका स्थानमा चार्जिङ स्टेशन तयार भइसकेको छ। यसबाट पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै जाने विश्वास आफूहरूले लिएको कार्यकारी अध्यक्ष रायमाझीले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here