बेचबिखनको समस्यालाई समाधान गर्नु आवश्यक

46

काठमाडौं । मानव बेचबिखन विरुद्धको १६औं राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाल सरकार र विभिन्न राजनीतिक दलले मानव बेचविखनविरुद्ध आफ्नो प्रतिवद्धता जनाएका छन्।

माइती नेपालको आयोजनामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री शेरबहादुर देउवाले मानव वेचविखनविरुद्ध सम्पूर्ण नेपाली एक जुट भएर लाग्नुपर्ने बताए। राजनीतिक रूपमा पहिले पनि यस विषयमा प्रतिवद्धता जायर भए पनि हालसम्म पूर्ण रूपमा लागू नभएको उनको भनाइ छ।

चेलिबेटी बेचबिखनको समस्यालाई सरकार तथा गैरसरकारी र सामाजिक संस्था मिलेर समाधान गर्नु आवश्यक रहेको उनले औंल्याए।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको समस्याले समाजमा जरो गाडिसकेको र विकृतिकै रूपमा मौलाएको विभिन्न तथ्यांकले पुष्टि गर्ने बताए।

उनका अनुसार आन्तरिक रूपमा बढ्दो बेचविखनको समस्या चुनौतिपूर्ण हुन थालेको छ। विभिन्न प्रलोभनमा पारेर भिजिट भिसामा वैदेशिक रोजगारमा लगेर बेचबिखनमा पार्ने गरेकाले यस विषयमा नेपाल सरकार र विभिन्न दलका प्रतिनिधिको ध्यान जानुपर्नेमा उनले जोड दिए।

त्यसैगरी कार्यक्रममा पीडित पक्षबाट बोल्दै काभ्रे घर भई काठमाडौंमा आएर होटलमा काम गर्ने शिलशिलामा एक चिनेकै दाइ पर्ने व्यक्तिबाट पीडित भएकी सीता (नाम परिवार्तन)ले ती व्यक्तिले राति कोठामा आएर आफूलाई जबरजस्ती गर्ने गरेको बताइन्।

‘उसले ब्लेडले मेरो घाटीमा काट्दा रगताम्मे अवस्थामा साथीको सहयोगले म भाग्न सफल भएँ’, उनले भनिन्।  हाल उनी माइती नेपालमा छिन्। माइती नेपालकै सहयोगमा आफूलाई पीडा दिने व्यक्ति समातिएकाले शक्ति र पैसाको आडमा उक्त अपराधी नछुटोस् भन्ने उनले इच्छा व्यक्त गरिन्।

‘सम्माननीय मन्त्री ज्यूले आवाज विहीनको आवाजलाई सुनिदिनुहुन्छ भन्ने आशा गरेकी छु’, उनले भनिन्।

अर्की पीडित भगवती (नाम परिवर्तन) को घर कैलाली हो। भारतमा रहेका उनका बुबाआमा भेटाइदिन्छु भन्दै एक दाजु पर्ने व्यक्तिले उनलाई काठमाडौं ल्याए।

यहाँ ल्याएर आफ्नो अस्तित्व नै मेटाएको उनले पीडा पोखिन्। सिन्धुली घर भएकी एक युवती बुबाले कुटपिट गरेपछि साथीको लहैलहैमा भारत लागिन्।

त्यहाँ एक डान्स बारमा काम गर्न थालिन्। तर त्यहाँ पनि बारकै साहुँले दुर्व्यवहार गरेपछि उनकी छिमेकी आन्टिले थाहा पाएर प्रहरीलाई खबर गरिन्।

उमेर नपुगेकी बालिका बोर्डर पार गरेको भन्दै उक्त साहुलाई प्रहरीले प्रक्राउ गरी थुन्यो। उनलाई माइती नेपालले संरक्षणमा लियो। आफूजस्ता हजारौं चेलिबेटी बेचबिखनमा परेर भारत पुगेका उनले सुनाइन्।

‘कैयौं बेचिएका छन्। नेपाल सरकारले हामीजस्ता चेलीबेटीको कहिले उद्धार गर्ने?’, उनले गुनासो पोखिन्।

दोलखा घर भएकी अर्की युवतीलाई गरिबीका कारण उनकै बुवाआमाले भारत लगे। बुबाको मृत्यु भयो। त्यसको केही समय पछि आमाको पनि मृत्यु भयो। उनी र उनका तीन भाइ थिए।

‘हामीलाई ठुलोबाबाले नेपाल ल्याउनुभयो। गरिबीको कारण काम खोज्दै घर छाडेर हिँडे। बाटोमा हिँड्दै गर्दा माइती नेपालको सम्पर्कमा आएँ र उहाँहरूकैमा आश्रय पाएँ। हामी जस्ता गरिबलाई सरकारको कहिले हेर्ला?’, उनको गुनासो छ। ‘आवाज विहीनहरूको आवाज’ नामक प्रस्तुतिमा यी पीडित बालिका एवं युवतीले आफ्ना पीडा पोखेकी हुन्।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी स्थायी कमिटी सदस्य सुजिता शाक्य, लोकतान्त्रिक समाजवादी पार्टीकी स्थायी कार्यकारिणी सदस्य पुष्पा ठाकुर, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन प्रमुख अन्जना शाह रावल लगायतले महिला बेचबिखनविरुद्ध आफू र आफ्नो दल प्रतिवद्ध रहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here