दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बतमै रोकिए

70

काठमाडौं । दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ ।

दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् ।

चीनले नाकाबन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । गौतमका अनुसार चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोनाका कारण ८ अगस्टदेखि लगाएको लकडाउन अझै जारी छ ।

आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेको नेपाली व्यापारी सुवास तिमल्सिनाले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here