प्रचण्डको पीडा यसरी छताछुल्ल हुन्छ !

43
स्वयम् प्रचण्ड भन्छन्– स्वार्थ समूह बनाउने भए किन चाहियो माओवादी पार्टी ?
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा स्वार्थ समूहको प्रभाव जबर्जस्त रुपमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ‘जनतालाई ठग्ने, व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर नै हामी पनि लाग्ने हो भने किन चाहियो यो माओवादी पार्टी ?’ भन्दै प्रचण्डले पार्टीभित्रको अवस्थालाई छर्लंग पार्नुभएको छ । प्रचण्डले माक्र्सको एउटा भनाइलाई सम्झना गर्दै भन्नुभयो, ‘यो अवसरवादीहरूको खेलौना हुने पार्टी चल्नुभन्दा यसलाई फालिदिएपछि बरु जनतालाई अलि सुख हुन्छ ।’
उहाँले भन्नुभयो, ‘स्थानीय तहमा झण्डै ५० भन्दा बढी (पालिकामा) हामीले जितेका पनि हा¥यौं । हामीले के कारणले हा¥यौं ? अन्य तमाम कारणका अतिरिक्त मुख्य कारण हाम्रो पार्टीभित्रै विकास भएको गैरसर्वहारावादी, गैरक्रान्तिकारी, व्यक्तिवादी, गुटवादी, स्वार्थवादी, आन्तरिक अन्तरविरोधको व्यवस्थापन गर्न नसक्दा ।’ जनयुद्धबाट राजनीतिमा स्थापित भएको राजनीतिक दल माओवादी केन्द्र अहिले तेस्रो शक्तिको रुपमा स्थापित छ । शान्ति प्रक्रियापछि पटकपटक सत्ताको नेतृत्व लिने र सहभागिता जनाउने अवसर पाएको माओवादी पार्टीका नेताहरुले देश र जनताको हितमा भन्दा पनि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएको भन्दै आलोचना हुँदै आएको छ । विशेषगरी सर्वहारा वर्गको लागि सामन्तविरुद्ध लडाइँ लडेका भनिएका नेताहरु नै मूलधारमा आएपछि आफैं नवसामन्तको रुपमा उदाएको भन्दै आलोचना हुने गरेको हो ।
यसबीचमा स्वार्थ समूहको प्रभावमा परी माओवादीका नेताहरु भ्रष्टाचार र अनियमिततामा संलग्न हुन थालेको सर्वसाधारणबाट नै आलोचना हुन थालेपछि पार्टी अध्यक्ष प्रचण्डले अहिले सार्वजनिक मञ्चबाटै यस्ता क्रियाकलापप्रति आपत्ति जनाएका छन् । सुर्खेतमा आयोजित नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विस्तारै विस्तारै हामी कमबेसी सबै विचलनको शिकार हुने खतरा छ । अहिले हाम्रो चुनौती यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवाद र अराजकतालाई रोक्ने हो । कर्णालीमा यो प्रवृत्ति कम भए पनि अरु ठाउँमा त नेताहरूबीच मुख बोलचाल पनि छैन । कार्यकर्ता समेत विभाजित छन् ।’
प्रचण्डले कार्यकर्तामा नै विभाजन आउँदा त्यसको असर चुनावमा देखिएको जनाउनुभयो । ‘साथीहरू आफ्नो पक्ष र गुटमा नलागेको उम्मेदवार छ भने त्यसलाई हराउनुमा बहादुरी ठान्ने भएका छन् । ‘मेरो गुटमा नलाग्ने तँ ? तँलाई हराएर देखाउँछु’ भन्ने एउटाले । अर्कोले पनि त्यही भन्ने । यसरी हामीले सजिलै जित्ने दर्जनौं पालिका गुमाएको छ्याङ्गै देख्यौं हामीले । गर्ने के ?’ उहाँले भन्नुभयो ।
तर, केन्द्रमा पार्टीभित्र भने एउटै विचार समूह भएको उहाँको जिकिर छ । ‘अहिले हाम्रो माओवादी केन्द्रमा विचार समूह त एउटै मात्रै छ । हामीले राष्ट्रिय महाधिवेशनबाट ८ दिन छलफल गरेर सर्वसम्मत रूपले दस्तावेज पारित गरेका छौं । हाम्रो पार्टीमा कुनै विचार समूह छैन । एउटै मात्रै विचार समूह छ, माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज नै हाम्रो विचार हो । त्यो हाम्रो सर्वसम्मत विचार हो,’ उहाँले भन्नुभयो ।
तर, पार्टीभित्र विचार समूह एउटै र नेतृत्वमा विमति नभए पनि विभिन्न गुट देखिएकोमा भने असन्तुष्टि जनाउनुभयो । गुटलाई स्वार्थ समूह पनि भन्न सकिने उहाँको भनाइ छ । ‘हामीसँग गुटहरू चाहिँ थुप्रै छ । अझ यसलाई गुट पनि भन्नु पनि ठूलो शब्द जस्तो लाग्छ । गुट होइन, स्वार्थ समूह । स्वार्थको निम्ति भएको गठजोड गर्ने र त्यो स्वार्थपूर्ति गर्नका लागि बढीभन्दा मान्छेलाई आफ्नो स्वार्थ समूहमा आवद्ध गर्न खोज्ने,’ प्रचण्डले भन्नुभयो । आफ्नो पद, प्रतिष्ठा, आर्थिक लाभ र स्वार्थको निम्ति भन्ने समूह धेरै भएको उहाँको भनाइ छ ।
‘हाम्रो पार्टी बिग्रेको त छ । वैचारिक विचलन आएको छ । भन्ने एउटा, गर्ने चाहिँ अर्को । जे भनिन्छ त्यो गरिँदैन, जे गरिन्छ त्यो भनिँदैन जस्तो भएको छ । यो त मार्क्सवाद र विज्ञान विरोधी गुटगत चरित्र हो । हामी त्यो छिरेको छ । कुनै न कुनै रूपले त्यसले घर गरेको छ,’ उहाँले भन्नुभयो ।
संविधान बचाउने, पार्टीहरूलाई मिलाउने, देश बचाउने, प्रतिक्रियावादी षड्यन्त्रबाट बच्नुपर्ने र समाजवादको यात्रा पनि सुरु गर्नुपर्ने अवस्था आएको उहाँले जनाउनुभयो । ‘कसैसँग नडराउनुहोस् । डराउनुपर्ने केही आवश्यकता छैन । गुट र स्वार्थ समूह बनाएर चल्ने प्रवृत्ति, मैले कुनै व्यक्तिलाई भनेको होइन यो प्रवृत्ति क्रान्तिकारी पार्टीको लागि सबैभन्दा घातक प्रवृत्ति हो । यस्तो प्रवृत्तिलाई मौलन नदिने भूमिका तपाईंहरूले खेल्नुहोस्,’ प्रचण्डले भन्नुभयो । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here