राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग

48

काठमाडौं  । राष्ट्रियसभा बैठकमा सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्  ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अति आवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्नुहुँदै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद दाहालले भन्नुभयो, ‘‘मिटरब्याजीहरुले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रूपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ । तर ती न्याय माग्न गएकाहरूलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्षज्यूमार्फत । र, अहिले सिटामोलको अभावले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस् ।’’

सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावहस्थिति सिर्जना भएको छ र औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आइरहेको छ । यो व्यापक रूपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ । बाढिपहिरोबाट जनताहरू आहात भएका छन् । उद्धार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’’

एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नु भयो, ‘‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’’

सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here