काठमाडौं । डलास गोर्खाज फाउन्डेसनको आयोजनामा ११औं गोर्खाज दशैं कप फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।
प्रतियोगिता सेप्टेम्वर २४ र २५ तारिखमा हुनेछ । प्रतियोगितामा रेगुलर क्याटगोरीमा १८ टोली, ३५ वर्षमाथि १० टोली र यू १२ र यू ७ मा चार टोलीको सहभागिता रहेकाे छ । खुल्लातर्फको विजेताले १० हजार अमेरिकी डलर र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले ४ हजार डलर प्राप्त गर्नेछ । ३५ वर्षमाथिको विजेताले ५ हजार डलरसँगै शिल्ड जित्ने प्राप्त गर्नेछ । दोस्रो हुनेले २ हजार डल पाउनेछ ।
प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका र ए डिभिजन लिगको लामो अनुभव बोकेका पर्वत पाण्डे र प्रलय राजभण्डारीको पनि सहभागिता रहनेछ । पाण्डे शेर्पा युनाइटेड क्लबको प्रशिक्षकको रुपमा तथा प्रलय रोयल नेपाल एफसी डलासको प्रशिक्षकको रुपमा आबद्ध छन् ।
डलास दशैं कप नियमित फुटबल प्रतियोगिता मात्रै नभएर अमेरिकामा नेपाली फुटबल समुदायको पर्व बनिसकेको छ । क्लबले विगत ११ वर्षदेखि नेपाली समुदायलाई एउटै प्लेटफर्ममा एकताबद्ध गरी संस्कृतिलाई एकसाथ मनाउने गर्दै आएको छ ।
आयोजक समितिका संयोजक अनुप घिमिरेले ११औं संस्करणको दशैं कपको तयारी पूरा भएको जनाएको छ । क्लबका अध्यक्ष विनोद विष्टले आफ्नो समुदायमा यस्तो खालको कार्यक्रम ल्याउदा र सबैलाई खेल्ने अवसर प्रदान गर्न पाउँदा हर्षित रहेको जनाएका छन् ।

















