काठमाडाैं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भएको जनाएको छ।
नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधान र संसदीय प्रणालीमाथि प्रहार गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जनाए ।
‘प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक पनि अस्वीकार गरेर राष्ट्रपतिले संविधान र संसदीय प्रणालीमाथि प्रहार गर्नुभएको छ’, उनले भने ‘यस विषयमा हामी गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिनेछौँ।’
संविधानको धारा ११३ को उपधारा ३ अनुसार अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचारको आवश्यकता ठानेमा प्रतिनिधिसभामा १५ दिनभित्र फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छ। तर दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक अस्वीकार गर्ने छुट राष्ट्रपतिलाई छैन।


















