नेपालमा ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध : पूर्वराजा ज्ञानेन्द्र

50

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध गरेको जनाएका छन्।

शुक्रबार भिडियो सन्देशमार्फत् बडादशैंको शुभकामना दिँदै उनले देशको राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा रहेको समेत जनाए।

उनले देशकाप्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन एवं प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको उल्लेख गरेका छन्।

‘डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध गरेको छ। हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ। हाम्रा मौलिक धार्मिक, सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिएको छ,’ पूर्वराजा शाहले भने, ‘परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ। व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई अझ भ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ।’

नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि भयो भन्ने जनगुनासो रहेको उल्लेख गर्दै शाहले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी गरेका छन्।

‘पदलोभ, सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधाभोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ? यो अवस्थाले जनतामा उत्साह छैन,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन, दायित्व के, गर्ने के? गर्न नहुने के? न्यायिक मूल्य के हो? के होइन? यी सबै कुराको निराकरण कसले गर्ने? कोबाट हुने? देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो।’

वर्तमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लाउने अवस्था भनेको शाहको भनाइ छ। उनले कुनै पनि कार्यले देश कहिल्यै हार्न नहुने बताए। उनले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै नेपाललाई फेरि महान बनाउनु परेको बताए।

‘आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ, बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ। नेपाल निरन्तर देशी विदेशीहरुको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ,’ उनले भनेका छन्, ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौँ, हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन।’

राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने उनले कामना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here