राप्रपाले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन

356

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ ।

उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अध्ययन गर्नुभएका राजनीतिज्ञ डा लोहनी पञ्चायती व्यवस्थादेखि बौद्धिक नेताका रूपमा परिचित छन् । उनले विभिन्न राजनीतिक कालखण्डमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नवगठित समितिका अध्यक्ष डा लोहनीले जनअपेक्षानुसार मुलुकको विकास तथा समृद्धिका लागि लघु उद्यमशीलता, जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि अर्थतन्त्र गतिशील बनाउने नीतिलाई नै पार्टीको अर्थनीतिका रूपमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here