नेपाली यू-१७ फुटबल टिम लगातार हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिए

60

एसियाकप छनोटका लागि भियतनाममा रहेको नेपाली यू-१७ फुटबल टिम लगातार दोस्रो खेलमा हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।  आयोजक भियतनामसँग शुक्रबार साँझ भएको खेलमा नेपालले ५-० को हार भोगेको हो। 
 यसअघि नेपाल आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो। 

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। १२ औं मिनेटमा भियतनामले दोस्रो गोल गर्दै नेपालमाथि एकपक्षीय दबाब बनायो।

  बुइ होआङ सनले टिमका लागि दोस्रो गोल गरेका थिए। १६ मिनेटमा नै ३-० को अग्रता बनाउने क्रममा भि थिनले तेस्रो गोल गरेका थिए।  पहिलो हाफमा नै लगातार गोल वर्षा गर्ने क्रममा लि डिङ लोङ भुले २९ औं मिनेटमा चौंथो गोल गर्दै पहिलो हाफमा ४-० को अग्रता दिलाए। तर दोस्रो हाफमा नेपाल तुलनात्मक रुपमा समालिए पनि इन्जुरी समयमा पाँचौ गोल खान पुगेको थियो।  इन्जुरी समयको तेस्रो मिनेटमा हुयान भान थान्हले टिमका लागि पाँचौ गोल गर्दै खेलमा फराकिलो जित सम्भव बनाए।  भियतनामले पहिलो खेलमा चाइनिज ताइपेईलाई ४-० ले हराएको थियो।  शुक्रबार नै भएको अर्को खेलमा थाइल्यान्डले चाइनिज ताइपेईलाई ३-१ ले पराजित गरेको थियो। 

समूह एफमा लगातार दुई जितका साथ भियतनाम शीर्षस्थानमा रहेको छ।  समान ६ अंकका साथ थाइल्यान्ड दोस्रो स्थानमा छ। अब प्रतियोगिताको निर्णायक खेलमा भियतनाम र थाइल्याण्ड भिड्ने छन्। एसियाका ४४ राष्ट्र १० अलग-अलग समूहमा छनोट खेलिरहेका छन्।  हरेक समूहको विजेता स्वत अन्तिम चरणमा प्रवेश गर्ने छ। समूहमा उत्कृष्ट प्रदर्शन गर्ने ६ उत्कृष्ट उपविजेताले पनि अन्तिम चरणमा प्रवेश पाउने छन्।  प्रतियोगिताको छनोट चरणबाट बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा आइतबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here