नरदेवी श्वेतकाली देवी नाच

202

काठमाडौं । नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच सोमबारदेखि तलेजु भवानी मन्दिर डबलीमा नचाइने भएको छ।

कात्तिक २ गतेसम्म नचाइने नाच मखनस्थित तलेजु भवानी मन्दिरमा रातभरि नचाइने नाच समारोह समितिले जनाएको छ। समितिका सहसंयोजक सत्यनारायण डङ्गोलले सोमबार बेलुका ६ः०० बजे ङतभुलु (नरदेवी) अजिमाको द्यः छेँबाट नाच सुरु हुने जानकारी दिनुभयो। त्यसपछि ८ः०० बजे तलेजु भवानी मन्दिरमा देवी नाच प्रवेश गर्ने र १०ः०० बजेतिर सर्वसाधारणलाई दर्शन गर्न दिइने उहाँले बताउनुभयो। उहाँका अनुसार राति १ः०० बजेसम्म प्रस्तुत गरेपछि देवी नाचको पहिलो चरण सम्पन्न हुनेछ।

यस्तै कात्तिक १ गते बिहान ६ः०० बजेदेखि नाच आरम्भ भई बेलुका ६ बजे दोस्रो चरणको नाच सम्पन्न हुनेछ। कात्तिक २ गते देवगण साँझ ६ः०० बजे तलेजु भवानी मन्दिरबाट ङतभुलु (नरदेवी) अजिमाको द्यः छेँमा आउने जानकारी उहाँले दिनुभयो। प्राचीन राजधानीको मुटुमा रहेको यस मन्दिरको निर्माण लिच्छवि राजा गुणकामदेवले नवौँ शताब्दीमा गराउनुभएको संस्कृतिविद् चुन्दा वज्राचार्यले बताउनुभयो। उहाँले नरदेवीस्थित सोही मन्दिरमा ङतभुलु अजिमासहित अरू देवीदेवता पनि विराजमान रहेको जानकारी दिँदै भन्नुभयो, “हरेक वर्ष पाहाँचह्रेका बेला यस मन्दिरनजिकै रहेको डबलीमा देवी नाच प्रदर्शन गरिन्छ।”

वज्राचार्यका अनुसार बनेपाका राजा काठमाडौँको हात्ती सिकार गर्न आउनुभएको थियो। आफ्नो सिकार गर्न आएको देखी हात्ती रिसाई राजालाई मार्न लखेटेपछि राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुग्नुभयो। हात्तीदेखि डराएका राजाले त्यहाँ आफूलाई बचाउन गुहार माग्नुभयो। उहाँले थप्नुभयो, “त्यसपछि त्यहाँ ठूलो ज्योति उत्पत्ति हुँदा हात्ती राजालाई केही गर्न नसकी फर्कियो। अनि राजा प्रसन्न भई आफूलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी नाना प्रकारका स्तुति गर्नुभयो।” सो रुखको फेदबाट श्वेत वर्णकी श्वेतकाली देवी उत्पन्न भई दर्शन दिएको भन्ने किंवदन्ती छ।

मध्यरातबाट श्वेतकालीसहित अष्टमातृका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको किंवदन्ती छ। सोही कुरालाई हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिविम्बित गरेको वज्राचार्यले प्रस्ट पार्नुभयो। नरदेवीलाई नरबलि लिने देवीका रूपमा पनि लिइन्छ तर त्यो भनेको मानिसको बलि नभई मानिसको मनभित्रको अहङ्कार, ईष्र्या, क्रूरता, आलस्यको बलि भन्न खोजिएको जानकारहरूको भनाइ छ। वंशावलीअनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षार्थ नगरका चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा स्थापना गरी खटजात्रा चलाउनुभएको हो। यलु जाेशी गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here