काठमाडौं । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इरानकाे एक जेलमा आगलागी भएकाे छ । विभिन्न मुद्दामा जेल सजाए भएका नेता, पत्रकार राख्दै आइकाे इभिन जेलमा आगलागी भएको बिबिसीमा उल्लेख छ । त्यहाँका सरकारी अधिकारीहरुका अनुसार आगलागीबाट क्षतिको विवरण आइसकेको छैन । सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ । त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ ।
अधिकारीहरूले बिबिसीलाई दिएकाे जानकारी अनुसार अहिले स्थिति केही सजह भएपनि आगलागी भने अझै नियन्त्रणमा आएकाे छैन । इरानमा केही सरकार विरोधी उग्र प्रदर्शन जारी छ । गत महिना २२ वर्षीया कुर्दिश इरानी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोश झन् चर्किएको थियो ।
सरकारी अधिकारीहरूले उनको हृदयाघातबाट मृत्यु भएको बताए पनि परिवारका सदस्यहरुले प्रहरीको यातनाबाट मृत्यु भएको दाबी गरेका छन् । बीबीसीका अनुसार जेलमा आगलागीको घटना सोही प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन ।


















