काठमाडौं । डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकले आग्रह गरेका छन्। डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्।
अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लुमा हुने धेरै लक्षण मिल्ने बताए। डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्नेजस्ता लक्षण बढी देखिने बताए। डा. गौतमले पछिल्ला दिनमा ९० प्रतिशत बिरामी डेंगीका रहेको पनि बताए। डेंगी, फ्लु र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षण आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणको पहिचान गरी सतर्क रहन पनि सुझाव दिए।
डेंगी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरे। उनले भने, ‘डेंगीमा ज्वरो सुरुमा धेरै आउने, केही प्रतिशत बिरामीको सामान्य ज्वरो पनि छ। रुघाखोकीको लक्षण त्यति देखिएन। तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ। धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर। घाँटी दुख्न सक्छ, आँखाको नानी दुख्न सक्छ डेंगीमा पनि। टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षण हामीले बढी देख्न सक्छौँ। अहिले ९० प्रतिशत केस डेंगीका आउनुभएको छ।
कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामी हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरू हुनुहुन्छ। डेंगी सरुवा रोग होइन, यो लाग्न लामखुट्टेले नै टोक्नुपर्छ। उहाँहरू दोधारमा हुनुहुन्छ। घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ। सरेको होइन, त्यसले नै टोकेको हुन सक्छ। सतर्क हुन जरुरी छ। डेंगीका बिरामीलाई झुलमा राख्ने उचित छैन। लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो।
बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो। त्यो बेलामा हामीले लापरवाही गरिरहेको छौँ जस्तो लाग्छ। फुल बाउला भएको लुगा लगाउने। राति झुलमा सुतेर डेंगी लाग्दैन भन्ने सोच त्याग्नुपर्छ। ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस्।’ डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामी पाइरहेको र अस्पतालमा डेंगीका बिरामीको चाप बढेको बताए।


















