किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने

115

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले यो वर्ष तीन लाख क्विन्टल धान खरिद गर्न लागेको जानकारी दिनुभयो। किसानलाई उचित मूल्य उपलब्ध गराउन समर्थन मूल्यमा खरिद गर्ने उहाँले जानकारी दिनुभयो। किसानले उत्पादन गरेको धान व्यवसायीले सस्तो मूल्यमा खरिद गर्दा किसान मारमा पर्ने हुँदा समर्थन मूल्यमा खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

कम्पनीले गत वर्ष पनि तीन लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा धान नपाएपछि ६० हजार क्विन्टल मात्रै खरिद गरेको थियो। गत वर्ष धानको उत्पादन कम भएको र किसानले बिक्री गरिसकेकाले धान नपाइएको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष धान नपाएपछि कम्पनीले चामल खरिद गरेर बिक्री गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष मुलुकभर ५१ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। धान काट्ने बेला बैमौसमी वर्षाको कारणले उत्पादनमा कमी आएको थियो।

व्यवसायीले कम मूल्यमा धान खरिद गरेर किसान मारमा पर्न थालेपछि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ। समर्थन मूल्यले किसानले धानको उचित मूल्य पाउँछन्। धानसँगै गहुँको समेत समर्थन मूल्य निर्धारण हुन्छ।

कम्पनीले बढी धान उत्पादन हुने तराईका जिल्लाबाट गएर धान खरिद गर्ने गर्छ। गत वर्ष बिर्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, भैरहवा, तुलसीपुर, नेपालगञ्ज, राजापुर, धनगढी र महेन्द्रनगरबाट धान खरिद गरेको थियो।

कम्पनीले धान खरिद गरी चामल कुटाएर दुर्गम तथा सुगम जिल्लामा सुपथ मूल्यमा चामल वितरण गर्दै आएको छ। कम्पनीले दुर्गम २४ जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ। खाद्यान्न ढुवानी गर्न सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here