बलम्बु महालक्ष्मी जात्रा सुरु

87

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।

बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ। स्थानीय हरिप्रसाद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको पनि अनेक मौलिक पक्ष रहेको बताउँदै उपत्यकामा मनाइने प्रायःजसो जात्रा उस्तै–उस्तै देखिने बताउनुभयो। “हरेक जात्राको भित्री स्वरूप भने नितान्त फरक हुन्छ,” उहाँले भन्नुभयो। बलम्बुमा ‘लाः तिइ मह्’ जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन छ। ‘लाः’को अर्थ मासु, ‘तिइ’को अर्थ झोल र ‘मह्’को अर्थ भात हो।

यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट सुरु हुन्छ। यस दिन छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन्। पाहुना बोलाएर खुवाउँछन्। उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुमाउने प्रचलन रहिआएको छ।

त्यस्तै जात्राको सम्पूर्ण जिम्मेवारी थकाली गुठी, दुवा गुठी र नाचखलःले लिने उहाँले बताउनुभयो। यता पुजारी शान्ति गुर्जुले नवमीका दिनलाई ‘तयारीको दिन’ भनिने जानकारी दिनुभयो। उहाँका अनुसार नवमीमा पाहुनालाई बोलाई सत्कार गर्न विभिन्न परिकार तयार पारिन्छ। सोही दिन जात्रामा आएका पाहुनाको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। कार्यक्रममा स्थानीय युवाले विविध बाजागाजाका साथ नाचगान गर्छन्।

जात्राको मुख्य दिन

दशमीका दिन जात्राको सबैभन्दा महत्त्वपूर्ण दिन हो। त्यस दिन बिहानै नौ जना गुठियारले कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन्। विधिवत् रूपमा पूजा गरिसकेपछि गुठियारहरू नाट्येश्वरको पूजा गर्न जान्छन्। त्यसपछि सात गुठियार आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लान्छन्। त्यसपछि दुवा गुठीका नौ जना गुठियार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन्। महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट एउटा फूल खस्छ, अनि मात्र दशमीको जात्रा विधिवत् रूपमा आरम्भ हुन्छ।

पूजालगत्तै मन्दिरमा रहेका मूर्तिहरूलाई खटमा राखिन्छ। त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ। त्यसपछि ढकीलाई पीठमा लगिन्छ। अनि मात्र खटको जात्रा शुभारम्भ हुन्छ। खटको जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ।पीठमा लगिसकेपछि बृहत् पूजा गरिन्छ। नगरका हरेक घरबाट पीठमा पूजा गर्न जानुपर्छ। पूजा सकिएलगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्वारेहरूले क्वाथः लेमा पूजा गर्छन्। उक्त पूजा सकिएलगत्तै बाजागाजाको तालमा ताल मिलाई दिनभरि रथ नचाइन्छ। रथ नचाउनेले खाली खुट्टा नचाउनुपर्छ। बलम्बु जात्रा कुमारी, महालक्ष्मी र गणेशको रथ नचाइले गर्दा रोचक बनेको छ। यहाँका सांस्कृतिक बाजाहरूले जात्रालाई झनै शोभायमान बनाउँदै आइरहेको छ।  यलु जाेशी गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here