नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ। सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा अवरूद्ध भएको हो।
फाइबर सेवा अवरूद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरूद्ध हुँदा सेवाग्राही मारमा परेका छन्। टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएपछि सबैभन्दा बढी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशस भा सदस्यका उम्मेदवार समस्यामा परेका छन्।
दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए।
‘फाइबर सेवामा खराबी आएपछि दिक्तेल बजारमा बाइपास सेवा खुला गरिएको छ,’ उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।’
दस स्थानीय तह रहेको जिल्लामा अहिले एनसेल मोबाइल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट भने सञ्चालनमा छन्। RSS

















