अनुसन्धानविद कमल रानाभाट ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कारबाट सम्मानित

91

काठमाडौं । जनस्वास्थ्य अनुसन्धानविद कमल रानाभाट २०७८ सालको ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको एक विशेष कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले रानाभाट लगायतलाई सम्मान गरे ।

दीर्घ मिर्गौला रोगीहरुमा कोभिड १९ खोपको असरबारे नेपालमा पहिलो अध्ययन गरेको, नसर्ने रोगहरुको रोकथाम गर्न राष्ट्रिय रक्तचाप मापन लगायत बिभिन्न राष्ट्रिय अभियानहरुको नेतृत्व गरेको, अन्तर्राष्ट्रिय फोरममा आवाज उठाएको लगायतका कारण उनलाई सम्मान गरिएको नास्टले जनाएको छ ।

विश्वकै प्रतिष्ठित हार्वर्ड युनिभर्सिटीमा क्लिनिकल रिसर्च विधामा पोस्टग्राजुएट डिप्लोमा अध्ययन गरेका रानाभाटले पुरस्कार पाएपछि मेडिकल अनुसन्धान र मेडिकल साइन्सको विकासको लागि योगदान गर्न थप ऊर्जा मिलेको बताएका छन् ।

स्वास्थ्य अनुसन्धानमा करिब एक दशक लामो योगदान गरेका उनले विशेष गरी नसर्ने प्रमुख रोगहरु (उच्च रक्तचाप, दीर्घ मिर्गौला रोग, मधुमेह आदि) को इपिडेमियोलोजिकल अध्ययन गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा तीन दर्जन भन्दा धेरै अनुसन्धान कृति प्रकाशित छन् ।

नास्टले कोरोना महामारी लगायतका कारण २०७८ सालमा प्रदान गर्न नसकेको विभिन्न १३ विधाका पुरस्कार बुधबार प्रदान गरेको हो ।

नास्टले कुलपति राष्ट्रिय नवप्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद (नार्क)लाई, विज्ञान पुरस्कार डा. कोमलराज रिजाललाई, प्रविधि पुरस्कार प्रा. डा. सुदर्शनराज तिवारीलाई तथा विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. लक्ष्मी कुमार पराजुली, डा. निरन्जन कोइराला, डा. प्रदीप कुमार पौड्याल, डा. रक्षा डंगोल र डा. अनु भट्टराई लगायतलाई प्रदान गरेको छ ।

त्यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबिता पौडेललाई, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार कमल रानाभाट र प्रकाश चन्द्र अमात्यलाई, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्कीलाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here