भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सम्वृद्धि र एकतावद्ध नेपालका लागि गठवन्धनको वहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गठवन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुवीच सहकार्य हुने उहाँले बताउनुभयो ।
“हामी अहिलेको चुनाव जितेमा दुई–तीन वटा चुनावसम्म सहकार्य गरेर अगाडी वढ्छौ” उहाँले थप्नुभयो, “स्थायी शान्ति चाहिएको छ, सम्पन्न देश र जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न देश बनाइ रोजगारीको सिर्जना गर्नेछौं ।”
गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठवन्धन दलहरुकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । संसद विघटन गरेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको उहाँले बताउनुभयो ।
दश वर्षअघि कारवाहीमा परेका कांग्रेसका तत्कालिन चितवन सभापति विकास कोइरालाको कारवाही फिर्ता गराउने उहाँले आश्वासन दिनुभयो । निर्वाचन सकिएसँगै कोइरालामाथिको कारवाही फिर्ता हुन्छ उहाँले भन्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई शान्ति र सम्वृद्धितर्फ लैजानुपर्ने धारणा राख्नुभयो । “यो पटक अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ हुदैछ । मलाई विश्वास छ । यो नेपाली जनता अग्रगमनका पक्षमा उभिने छन् ।”
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठले मुलुक अस्थिरतातर्फ लैजाने दृढताविरुद्धमा गठवन्धन भएकाले यसैका पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रष्मीराज नेपालीले राष्ट्रियताका पक्षमा उभिने उमेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
यसैवीच प्रधानमन्त्री देउवाले आजै कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई समवेदना प्रकट गर्नुभयो । श्रीमती शिरमाया गुरुङको शोकमा रहनुभएका केन्द्रीय सदस्य गुरुङलाई प्रधानमन्त्री देउवाले चितवनस्थित घरमै पुगेर समवेदना प्रकट गर्नुभयो ।
विमानस्थलबाट चितवन झरेलगत्तै उहाँ गुरुङ निवास पुग्नुभएको थियो । त्यहाँ रहेको शोकपुस्तिकामा पनि उहाँले हस्ताक्षर गर्नुभयो । गुरुङ परिवारलाई समवेदना दिन प्रधानमन्त्रीसँगै माओवादी अध्यक्ष प्रचण्ड पनि पुग्नुभएको थियो । gorkhapatra


















