काठमाडौं । नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामाको धम्की दिएका हुन् ।
यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भइरहेको उनले बताए । अब सभापतिलाई भेटेर राजीनामा पत्र बुझाउने तयारीमा रहेको भन्दै उनले भने, ‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’
सर्लाहीमा जंगलाल राय, शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता लगेका छन् । यसले आफूहरु अन्यायमा परेको भन्दै सर्लाहीका नेता कार्यकर्ताले केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिइरहेका छन् ।

















