काठमाडाैं । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हरिबोधिनी एकादशी आज शुक्रबार देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। ठूलो एकादशी तथा प्रबोधिनी एकादशीका नामले समेत चिनिने यो पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाउने परम्परा छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा जानुभएका भगवान् विष्णु चार महिनापछि आजकै दिन जागा हुने विश्वास गरिन्छ। भगवान् विष्णु जागा हुने दिन भएकाले यसलाई हरिबोधिनी एकादशी भनिएको हो।
यस अवसरमा घरघरमा तुलसीको मठ सजाएर तुलसी र भगवान् विष्णुको प्रतीक शालिग्रामबीच विवाह गरिदिने परम्परा रहेको छ। तुलसी विवाह गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। भक्तजनले आज व्रत बस्ने, स्नान गर्ने, भगवान् विष्णुको पूजा–आराधना गर्ने, भजनकीर्तन तथा जाग्राम बस्ने गर्दछन्।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिर, बूढानीलकण्ठ, देवघाट, रिडी तथा वराहक्षेत्रलगायतका धार्मिकस्थलमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।
धार्मिक मान्यताअनुसार तुलसी विवाह सम्पन्न भएसँगै हिन्दू धर्मावलम्बीहरूका विवाह, व्रतबन्धलगायतका शुभ तथा माङ्गलिक कार्यका लागि साइत खुल्ने विश्वास गरिन्छ।
व्रतालुहरूले द्वादशीका दिन विधिपूर्वक पूजा, दानदक्षिणा गरी व्रत समापन गर्ने परम्परा रहेको छ।


















