आज शतबीज छर्ने दिन

51

काठमाडौं  । पितृ मोक्षको कामना गर्दै मङ्गलबार बालाचतुर्दशी मनाइँदै छ । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महादीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ ।

पितामाता, हजुरबुवा, हजुरआमा तथा सात पुस्ताभित्र जुठो बार्नुपर्ने जोकोहीको पनि जुठो बार्ने या बरखी बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पूरा गर्न नसकेमा पवित्र खोलामा तीन पटक डुबुल्की मारेर चोखो भई शतबीज छर्ने गरिन्छ । यसो गर्नाले सम्पूर्ण पितृऋणबाट मुक्ति पाइने जनविश्वास रहेको ज्योतिषी डा. सुनिल सिटौलाले बताउनुभयो ।

यो दिन नेपाल तथा भारतका विभिन्न शक्तिपीठ र त्रिवेणीधामहरूमा शतबीज छर्ने तीर्थालुको घुइँचो लाग्ने गर्छ । विगतमा शतबीजअन्तर्गत सय प्रकारका धान तथा अन्न भन्ने बुझिन्थ्यो तर अहिले ती अन्न उपलब्ध नहुने भएका कारण सप्तबीजका रूपमा धान, गहुँ, मास, मुगीलगायतका अन्न छर्ने गरिन्छ ।

यस दिन पशुपतिनाथ तथा आसपासका किराँतेश्वर, गौरीघाट, गुह्येश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वनमा भक्तालुको घुइँचो लाग्छ । त्यसबाहेक पूर्वी नेपालको चतरा, वराह क्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाटधाम, धनुषाको क्षीरेश्वरलगायत देशभरिका शिवालय एवं त्रिवेणीधाममा विशेष मेला लाग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here