काठमाडौं। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार इंग्ल्याण्डविरूद्धको खेलमा इरानी खेलाडीले विरोधको अनौठो तरिका प्रस्तुत गरे। टिमका सबै सदस्य राष्ट्रगान बज्दा मौन रहे।
उनीहरूले देशमा लागु कडा कानुनको विरोधमा विश्वकपको मञ्चलाई छनोट गरेको विदेशी अखबारहरूले बताएका छन्। अहिले महिलाहरूले हिजाब नलगाएको भन्दै इरानी सरकार कडा रूपमा प्रस्तुत भइरहेको छ।
यसको देशव्यापी विरोध प्रदर्शन पनि भइरहेको छ। यही वर्षको १३ सेप्टेम्बरमा हिजाब नलगाइ बाहिर हिँडेको भन्दै २२ वर्षीय युवती महसा अमिनीलाई इरान प्रहरीले गिरफ्तार गरेको थियो। उनको बन्दी अवस्थामै निधन भएपछि इरानमा हिजाबको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ। यो घटनामा ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। IME Agni इरान सरकार प्रदर्शनलाई दबाउन शक्ति प्रदर्शन गरिरहेको छ। इरानमा हजारौं मानिस गिरफ्तार भइसकेका छन्। इरानी खेलाडीले सरकारको यही निर्णयको विरोधमा विश्वकपमा मौन बसेर विरोध जनाएको हो। इरानी खेलाडीले यसअघि पनि कालो ज्याकेट लगाएर सरकारी निर्णयको विरोध जनाइसकेका छन्।


















