दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ । व्याँस गाँउपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९–८० को बार्षिक स्वीकृत कार्यक्रमअनुसार व्याँस गाउँपालिका –४ सुन्सेरा साईमा पाँच रोपनी जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरिएको कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडूले जानकारी दिनुभयो ।
स्थानीय पार्वती कुवँरको जमिन भाडामा लिएर गाउँपालिका आफैले तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो । व्याँस गाउँपालिकाको गत भदौ २२ गते बसेको बैठकले कृषि फर्म स्थापनाका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
कृषि विषय अध्ययन गरेका बेरोजगार युवालाई उद्यमसँग जोड्ने र नौँलो प्रविधि सिकाउने उद्देश्यले गाउँपालिकाकै लगानीमा कृषि फर्म स्थापना गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो । चाँडै विज्ञापन आह्वान गरेर १० जना कृषि जेटिए र १० जना स्वयमसेवक भर्ना गरी कृषि फर्म सञ्चालन गर्ने तयारी भइरहेको कृषि विकास शाखा प्रमुख विश्वेश्वर बडूले बताउनुभयो ।
अहिले स्थानीयहरुको सहयोगमा पानी सिंचाइ, जमिन तयारी र प्लाष्टिक मल्चिङ गरेर तरकारीको वीउँ लगाउने काम भइरहेको छ । “अहिले फर्ममा काउली, बन्दा, प्याज, मुला, रायो, पालुङ्गोजस्ता हरियो सागपात लगाइँदैछ” उहाँले भन्नुभयो, “कृषि जेटिए र स्वयमसेवक भर्ना भइसकेपछि फागुन महिनासम्ममा थप जमिन भाडामा लिएर आलु खेती गर्ने योजना छ ।”

गाउँपालिकाको कृषि फर्ममा उत्पादन भएको तरकारी स्थानीय बजार र दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका विद्यालयमा बिक्री वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । निकट भविष्यमै २५ रोपनीसम्म जमिन भाडामा लिएर नमुनाका रुपमा कृषि फर्म सञ्चालन गरिने कृषि शाखा प्रमुख बडूले बताउनुभयो ।
स्थानीयलाई तरकारी खेतीप्रति प्रोत्साहन गर्ने र बेरोजगार युवालाई उद्यमसँग जोड्ने उद्देश्यका साथ कृषि फर्म नमुनाका रुपमा सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । गाेरखापत्रबाट


















