जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

50

काठमाडौं ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र) का तीन, नेकपा (एकीकृत समाजवादी) का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ ।

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित हुनुभयो । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार ३८६ मत प्राप्त गर्दा पनि पराजित हुनुभयो ।

मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार छ सय, सुनसरी–४ मा नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे पनि विजयी हुन सक्नुभएन ।

त्यस्तै, मधेश प्रदेशबाट सर्लाही–३ मा नेकपा (माओवादी केन्द्र)का नरेन्द्र साह कलवारले ३२ हजार १६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजित हुनुभयो ।

बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार ४८२ मत, मकवानपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ४३२ मत प्राप्त भएर पनि पराजित हुनुभएको छ ।

गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार ७९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार ११० मत पाएर पनि हार बेहोर्नुपर्‍यो ।

यस्तै, लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत, अर्घाखाँची–१ मा कांग्रेसकी पुष्पा भुसालले (गौतम) ४० हजार ९४५ मत, रुपन्देही–३ मा कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्तले ३८ हजार ६९७ मत, प्युठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त भए पनि पराजित हुनुभएको हो ।

कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीलाई  ३० हजार ९८८ मतदान भएर पराजित हुनुभएको हो । सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here