गरिबी निवारण अभियान आगामी सरकारले प्राथमिकता दिनुपर्छ

53

इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियान आगामी सरकारको प्राथमिकतामा पर्ने उहाँको भनाइ छ।

सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका प्रवक्ता कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसको १२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो धारणा व्यक्त गर्नुभएको हो। मन्त्री कार्कीले आगामी सरकार कांग्रेसको नेतृत्वमा  वर्तमान सत्तारूढ लोकतान्त्रिक वाम गठबन्धनकै बन्ने उल्लेख गर्नुभयो। आफू लोकतान्त्रिक वाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिका रूपमा काम गर्ने उहाँले बताउनुभयो।

मुलुकको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महìवपूर्ण भूमिका हुने उहाँको भनाइ छ। शिक्षाको विकास र विस्तारका लागि सूचना तथा प्रविधि प्रयोगमा जोड दिनुपर्ने उहाँले बताउनुभयो। सुनसरी–४ बाट मतदाताले आफूलाई दोस्रो पटक विजय गराएको बताउनुहुँदै मन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा विगत पाँच वर्षमा शिक्षा, स्वास्थ्य, विद्युत्लगायत विभिन्न भौतिक पूर्वाधार विकास गरेको र आगामी दिनमा पनि सर्वसाधारणको अपेक्षाअनुरूप गरिबी निवारण र रोजगारी सिर्जना अभियानमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

सो अवसरमा वराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी सुनुवारले कृषि प्राविधिक विषयको अध्यापन गराउने सन्दर्भमा क्याम्पसले पहल गर्नुपर्ने बताउनुभयो। क्याम्पस व्यवस्थापन समितिकी अध्यक्ष सुशीलादेवी खनालको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो।   रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here