जारी विश्वकपमा मोरोक्को पहिलाे पटक क्वाटरफाइनलमा प्रवेश

60
AL RAYYAN, QATAR - DECEMBER 06: Morocco players celebrates after Achraf Hakimi of Morocco scores the winning penalty during the FIFA World Cup Qatar 2022 Round of 16 match between Morocco and Spain at Education City Stadium on December 06, 2022 in Al Rayyan, Qatar. (Photo by Alex Livesey - Danehouse/Getty Images)

दोहा । मोरोक्को फुटबलको वर्तमान टोलीमा सबैभन्दा ठूलो नाम हुन् डिफेन्डर अस्रफ हाकिमी । फ्रान्समा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमारसहितको टोली पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनै हाकिमीले गोल गरेपछि मोरोक्कोले कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा स्थान बनाएको छ । मोरोक्को यसअघि प्रि-क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन ।

त्यसमा पनि सन् १९८६ को संस्करणमा मात्र पहिलो चरण पार गरेको थियो । मोरोक्को पछिल्लो सफलताले विश्वकप इतिहासमा क्वाटरफाइनल पुग्ने केवल चौथो अफ्रिकी राष्ट्र बनेको छ । यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र २०१० मा घानामात्र क्वाटरफाइनल पुगेका थिए । अब क्वाटरफाइनलमा पोर्चुगललाई हराउन सके मोरोक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ । मंगलबार राति स्पेन र मोरोक्कोबीचको खेल निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । खेलको निर्णय लिन भएको टाइब्रेकरमा चौथो प्रहारमा गोल गर्दै हाकिमीले मोरोक्कोलाई ऐतिहासिक यात्रा तय गराए ।

स्पेनका सुरुका तीनवटै प्रहार विफल भएपछि हाकिमीले गोल गर्दै मोरोक्कोलाई अगाडि बढाएका हुन् । संयोग नै मान्नुपर्छ, हाकिमी आफ्नो जन्मभूमि स्पेनलाई हराएर यो सफलता हात पार्न सफल भए । सन् १९९८ मा म्याड्रिडमा जन्मिएका हाकिमी रियल म्याड्रिडको एकेडेमीका उत्पादन हुन् । जहाँ उनी ८ वर्षको उमेरमा भर्ना भएर १० वर्ष बसेका थिए । पछि रियल म्याड्रिडका लागि तीन वर्ष खेलेका उनी सन् २०२१ देखि पीएसजीमा छन् । मोरोक्कोको यू-१७ र यू-२० राष्ट्रिय टोली हुँदै उनले सन् २०१६ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । स्पेनविरुद्ध निर्णायक प्रदर्शन गरेका गोलरक्षक यासिन बौनु पनि मोरोक्कोमा जन्मिएका होइनन् ।

क्यानडामा जन्मिएका ३१ वर्षीय बौनुले स्पेनविरुद्ध भएको पेनाल्टी सुटआउटमा विपक्षीलाई एक गोल पनि गर्न दिएनन् । बौनु पनि मोरोक्को फुटबलमा परिचित नाम हो । उनी स्पेनिस क्लब सेभियाका पहिलो रोजाइका गोलरक्षक हुन् । बौनु सन् २०१४ देखि ला लिगा खेलिरहेका छन् । त्यसअघि उनी एट्लेटिको म्याड्रिडको बी डिभिजन टोलीका लागि खेल्ने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here