काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त अभ्यासको उद्घाटन गरेका हुन् ।
‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास पुस १४ गतेसम्म चल्ने छ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो ।
नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरणको पन्ध्रौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सञ्चालन भइसकेको छ ।
नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको छ, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ ।
अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रूपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेक नेल’ लाई अघि बढाएको हो । उक्त अभ्यास पनि कोरोनाकै कारण रोकिएको छ ।


















