राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प छैन

49

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङले बताए।

संवाद डबलीले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे। उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको पटक पटक दोहोर्‍याए।

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क गरे। ‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन। पार्टीमा पनि कुरा उठेको छैन। पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन। तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ, आईराखेको छ । अव सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन’, उनले भने, ‘किनभने अहिलेसम्म दलहरुले नै देशको नेतृत्व गरेको हो। अब पनि मुलुकको अगुवाई दलहरुले गर्नुपर्छ। राजनीतिक पृष्ठभूमि, राजनीतिक विचारधारा, राजनीतिक मूल्य, मान्यता, आर्दशको आधारमा आएका नेताहरुबाट नै मुलुकको अगुवाई गर्नुपर्छ, मुलुकको नेतृत्व गर्न सक्छ।’

उनले कमीकमजोरीका बाबजुद अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प नरहेको बताए। ‘अहिले दलीय प्रणालीको विकल्प छैन। राजनीतिक पृष्ठभूमिबाट आएका लिडरहरुको विकल्प छैन। यो मान्यताभन्दा फरक ढंगले राजनीतिक पृष्ठभूमि बाहिरका ल्याउने कुरा ठीक होइन। यदि यथार्थ हो भने यो प्रणालीबाटै विचलित भएको सोच हो त्यो। यदि यही हो भने बहुदलीय प्रणाली किन ? किन दलीय प्रतिस्पर्धा ? किन त्यत्रो निर्वाचनको अभ्यास गर्नुपर्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here