चितवन । संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो सो सडक बन्द रहने नारायणगढ–मुग्लिन–नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । मुग्लिनदेखि पश्चिमका चारवटा पुल बनाउनका लागि दिउँसो सडक बन्द हुन लागेको हो ।
एक महिना जति दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्ने आयोजनाका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले बताए । चिसेन्जी, तुइन खोला, कालिखोला र सिमलतालमा पुल बनाउन पहाड काट्नु पर्ने भएको र पहाड काटेका बेला गाडी चल्दा जोखिम हने भएका कारण सडक बन्द गर्नु परेको उनले बताए । चार वर्षअघि नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको फराकिलो बनाउने काम सम्पन्न भएको थियो ।
‘अन्य पुलहरुको काम धेरै अगाडि बढेको छ । तर तीन चारवटा पुलको काम अगाडि बढाउन गाडी नै रोकेर पहाड ताछ्नु परेको हो,’ इन्जिनियर आचार्यले भने । पुल बनाउने ठाउँको आडैमा पाँचवटा घरहरु रहेका कारण एउटा पुलको अझै जग खन्ने कामसमेत सुरु भएको छैन । क्षतिपूर्ति नदिइ ती घर हटाउन नपाउने भएका कारणले रकम आइनसकेको हुँदा घर हटाएर पुलको काम सुरु गर्न अबेला भएको आचार्यले बताए ।
पुलको कामका लागि बाटो बन्द गर्दा बिरामी बोकेका एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मीका गाडी र अत्यावश्यक सेवाका केही गाडीहरुलाई अनुकूलता हेरेर सडक आरपार गराउने व्यवस्था मिलाएको पनि आचार्यले जानकारी गराए । बाटो बन्द हुने समयमा रोकिने गाडीको ठाउँ पनि तय भएको छ । नारायणगढ हुँदै मुग्लिन जाने यात्रु बस र साना गाडी जुगेडीदेखि १५ किलोसम्म रोक्ने व्यवस्था मिलाएको आचार्यले बताए ।
यो सडक राजधानी काठमाडौंको लाइफलाइन पनि भएको हुँदा बन्द गरेर काम गरेका बेलामा पर्याप्त औजार उपकरण व्यवस्था गरेर छिटो काम सक्न मंसिर २७ गते चितवन जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफल कार्यक्रममा निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ । पहाड काट्नका लागि ११ वटा मेसिन प्रयोग हुने इन्जिनियर कृष्ण आचार्यले बताए । कान्तिपुर

















