ठूलोटारको चारैतिर एक सय पिल्लर गाड्ने कार्यक्रम अनुसार अहिले पिल्लर गाड्ने काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउछन् । “जथाभावी रुपमा व्यक्तिगत प्रयोगका लागि सार्वजनिक जग्गा अतिक्रमण भएको छ, नीति तथा कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण गर्ने उल्लेख गरिएको छ” उनले भने,–“अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गरी हरियाली सुन्दर सहर बनाउनेछौँ” ।
लामो समयदेखि स्थानीय घरवालाले लैजान नदिएको बाटोको विवाद समाधान गर्दै अमिन लगेर सार्वजनिक जग्गा नापजाँच गरी ठूलोटारको चारैतर्फ जग्गा संरक्षण अभियान सुरु भएको वडाले जनाएको छ । ठूलोटार क्षेत्रमा रहेको ८४ रोपनी सार्वजनिक जग्गामध्ये करिब नौ रोपनी जग्गा अतिक्रमणमा परेको वडाध्यक्ष पोखरेलले बताए । रामपुर नगरपालिकासँग समन्वय गर्दै सार्वजनिक जग्गा संरक्षण तथा बालखेल संसार समितिले पनि दबाब दिँदै आएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले सूचनासमेत निकालेको थियो ।
राष्ट्रिय गौरवका आयोजनाबाट सञ्चालन भएका क्षेत्रबाट सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । हाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत रामपुर– ५ स्थित मटेरी ठूलोटार र २ स्थित भलायटारमा विवादले काम ठप्प रहेको सडकमा सार्वजनिक जग्गा किटान गरी अहिले काम सुरु गरिएको नगर प्रमुख थापा बताउछन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर घर, भवन तथा विभिन्न संरचना बनाउने कार्य बढ्न थालेसँगै नगरले यसवर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिएर अगाडि बढेको छ । रासस
















