काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् ।
बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।
तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।
अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।
पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो । चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।
पुनरावेदन अदालत, पाटनले २७ वैशाख २०७३ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो । तर हालसम्म उनी गोलघरमा राखिएका थिए । गोलघरलाई कारागारभित्रको पनि कारागार भनेर चिनिन्छ, जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्याउन सक्ने व्यक्तिलाई राखिन्छ । केन्द्रीय कारागारले चाहिँ अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउने गरेको थियो ।

















