–निमकान्त पाण्डे
‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’ भन्ने यो चर्चित उक्ति हालै नेपाली राजनीतिमा पनि दोहोरियो । दुई वर्षअघि दुई विपरीत ध्रुवमा बाँडिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रच सत्ता समीकरणका लागि सहकार्य भयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । विगतको टसलकै कारण एक अर्कालाई देख्न पनि नचाहेका केपी शर्मा ओली र प्रचण्डबीच यस्तो सहकार्य हुनुको आधार भने अर्को दल नेपाली कांग्रेस बन्यो । कांग्रेस निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकार बनाउन असफल रह्यो । सभापति शेरबहादुर देउवाको हठका कारण पार्टीले महत्वपूर्ण पद मात्र गुमाएन, प्रतिपक्षमा पनि धकेलियो । प्रचण्ड नेतृत्वको सरकारको आयु कति होला ? कसरी काम गर्ला ? यस्ता प्रश्नहरु थुप्रै छन् । तर, पंक्तिकारले यस आलेखमा भने देशकै मुख्य पार्टी कांग्रेसको विगत र वर्तमानसम्मको भूमिकालाई उठाउन खोजेको छ । हालै मात्र सत्ता समीकरणका लागि कांग्रेस र यसका सभापति देउवाको क्रियाकलापले पनि देशको लागि कांग्रेसको हालसम्मको भूमिकाबारे समीक्षा जरुरी भएको हो ।
कुनै देशको विकास र समृद्धिका लागि सत्तामा आसपासमा रहँदै आएको दल, तिनका नेता, पार्टी सिद्धान्तहरु महत्वपूर्ण रहन्छ । कांग्रेस यस्तो दल हो, जो नेपालको पार्टी इतिहासमा सबैभन्दा पुरानो र नेपाली राजनीतिमा केन्द्रमा रहँदै आएको छ । राणा शासनकालदेखि नेपालमा सक्रिय रहेको यो दल पञ्चायत, राजसंस्था, प्रजातन्त्र र लोकतन्त्रकालीन अवस्थासम्म पनि मुख्य भूमिकामा छ । तत्कालीन बीपी कोइराला नेतृत्वको कांग्रेसकै अगुवाइमा नेपालमा राणाशासन अन्त्य भएको थियो, जसलाई तत्कालीन राजा तथा कम्युनिष्ट पार्टीले पनि समर्थन गरे । त्यसपछि २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले बहुमत पाएर सत्ता सञ्चालन गर्ने मौका पाएको थियो । तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पञ्चायत व्यवस्था ल्याएपछि कांग्रेस सत्ताबाट विमुख हुनुप¥यो । बीपी भारतमा निर्वासित भए । पछि मेलमिलापको नीति लिएर नेपाल आए । तर, उनले मुलुकलाई सही दिशामा लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । त्यसपछि २०४६ सालको जनआन्दोलनपछि पनि कांग्रेस सधैं प्रमुख पार्टी नै बनिरह्यो । पटकपटक सत्ता सञ्चालनको अवसर पनि पायो । तर, ती सबै अवसर खेर गयो । चाहे त्यो बीपी कोइराला होऊन् वा गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवा नै किन नहोऊन्, देशलाई कायापलट गर्ने गरी उनीहरुबाट कुनै काम हुन सकेन ।
यसको एउटै कारण कांग्रेसमा निरन्तर देखिएको आन्तरिक द्वन्द्व । सुरुवाती कालमा कांग्रेसमा दुई कोइराला भाइ बीपी र मातृकामा नै टसल थियो । त्यतिबेला प्रमुख नेतामा गणेशमान सिंह, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई लगायत थिए । यी नेताहरुको स्वार्थको चपेटामा पर्दा न कांग्रेसले गति लिन सक्यो न मुलुकमा नै प्रजातन्त्रको बहाली हुन सक्यो । २०४६ सालपछि प्रजातन्त्र आएपछि पनि कांग्रेसको यो विवाद टुंगिन सकेन । पार्टीका प्रमुख नेताहरु त फेरिए, तर नेताहरुमा देखिने टसल बाँकी नै रह्यो । त्यतिबेला पनि गिरिजाप्रसाद, कृष्णप्रसादलगायत नेताहरुको खिचातानीको शिकार मुलुक भइरह्यो । ५० को दशकमा नेपालको राजनीति अस्थिरताको शिकार भयो । त्यतिबेला नै पटकपटक निर्वाचन, सरकार फेरबदल, सांसद किनबेच जस्ता काण्डहरु मच्चिए । कांग्रेसको यो फोहोरी खेलमा पछिल्लो समय थपिएका थिए, शेरबहादुर देउवा । कांग्रेसको दीर्घकालीन यो रोग अहिले पनि साम्य भएको छैन । सत्ताका लागि आन्तरिक द्वन्द्वमा नै फसिरहने कांग्रेस कहिले कम्युनिस्ट पार्टीमा फुट ल्याउन त कहिले तिनैको बलमा सत्ताको नेतृत्व लिन पनि अग्रसर हुँदै आएको छ ।
कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको सधैं टसल रहने गर्छ । प्रायःजसो संस्थापन पक्ष रहेका र सभापति भइसकेका नेताहरु जीवनको अन्तिम समयसम्म पनि पार्टीको नेतृत्वमा जरो गाडेर बस्ने प्रचलन छ, जसका कारण पार्टीमा गतिशीलता पैदा हुन सकेको छैन । कांग्रेसको यो गतिहीनताको सिको क्रमशः कम्युनिस्ट पार्टीहरुमा पनि देखिन थालेको छ । कुनै पनि पार्टीलाई प्रतिस्पर्धी गतिविधिले ठूलो प्रभाव पार्छ । तर, कांग्रेसको विगतदेखि वर्तमानसम्मको अवस्थालाई समीक्षा गर्ने हो भने यो पार्टीमा आन्तरिक द्वन्द्व र सत्ता समीकरणका लागि चलखेलबाहेक अन्य उपलब्धि भेट्न सकिँदैन । कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी दाबी त गर्छ, तर पदाधिकारी चयन, निर्वाचनमा उम्मेदवार छनोट लगायत धेरै विषयमा अझै लोकतान्त्रिक प्रक्रिया अपनाउन सकिरहेको छैन । यसको अर्थ अन्य पार्टीमा समस्या नरहेको भन्ने होइन । तर, कांग्रेस एउटा पुरानो र सधैं मुलुकको प्रमुख दल भएकाले उसबाट यो अपेक्षासम्म गर्न सकिन्छ ।
यदि कांग्रेसले त्यस्तो प्रक्रियालाई अवलम्बन गरेको भए अन्य पार्टीलाई पनि यो ठूलो पाठ बन्न सक्छ । तर, न त कांग्रेसले आफ्नो पार्टीगत समस्या हल गर्न सकेको छ न त सरकारमा गएर देशको समृद्धिलाई टेवा पुग्ने काम नै गर्न सकेको छ । यसबीचमा कम्युनिस्ट सरकारबाट भएका काम बरु केही उल्लेखनीय रहेका छन् । कांग्रेस फेरि आफ्नो विगत दोहो¥याउने कि नयाँ बाटोतर्फ लाग्ने भन्ने मोडमा पुगेको छ । अब कांग्रेसमा देखिने परिवर्तन र यसले प्रतिपक्षमा निर्वाह गर्ने भूमिकाले नै यसको उत्तर दिनेछ , आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट


















