‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाए

131

काठमाडौं ।  आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको लागि बुधबारसम्म ११ क्लबले दर्ता फारम बुझाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ति जारी गर्दै १४ मध्ये ११ क्लबले टिम दर्ता गरेको बताएको हो।

मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबाहेक अन्य सबै क्लब दर्ता भइसकेको एन्फाले बताएको छ।

दर्ता हुने क्लबहरूमा चर्च ब्वाइज युनाइटेड, विभागीय टोली त्रिभुवन आर्मी, विभागीय एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन्।

दर्ता भएका ११ मध्ये १० क्लबले लिगका लागि उपलब्ध गराइएको तयारी रकमको पहिलो किस्तासमेत लगेका छन्। तर, नेपाल पुलिस क्लबले भने तयारी रकमको पहिलो किस्ताबापतको १५ लाख रुपैयाँ लगेको छैन।

एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई साढे ३२ लाख रुपैयाँ उपलब्ध गराउने गर्दछ। यो रकम पहिला उपलब्ध गराउँदै आएको भन्दा १० लाखले बढी हो।

‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुनेछ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगको विजेताले ७५ लाख पाउने छ। दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ लाख पाउने एन्फाले जनाएको छ।

एन्फाले क्लब दर्ताको समय भने पुस २२ गतेसम्मलाई दिएको छ। दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here