काठमाडाैं । प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्ने भएका छन् । उक्त प्रतियोगिता इटहरीको जनता पार्क मैदानमा पुस २९ देखि शुरु हुनेछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार पुस २९ गते हुने पहिलो तथा उद्घाटन खेलमा प्रदेश १ र मधेश भिड्ने भएका हुन् ।
सोहि दिन हुने अर्को खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश आमनेसामने हुने जनाइएको छ । सात प्रदेश र नेपाल पुलिस क्लबको गरि ८ टोली सहभागी प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । माघ ६ गते सेमिफाइनल र ७ माघमा फाईनल खेल हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउने क्यानले जनाएको छ ।


















