इरफान नरहे पनि उनका छोरा बाबिलले पिताको सम्झना गरे

55

एजेन्सी । बलिउड अभिनेता इरफान खानको सन् २०२० मा निधन भयो। उनी जीवितै भएका भए हिजो अर्थात् जनवरी ७ मा आफ्नो ५६औँ जन्मदिन मनाउने थिए। इरफान नरहे पनि उनी जन्मिएको दिन उनका छोरा बाबिलले पिताको सम्झना गरेका छन्। उनले अन्तर्वार्ताका क्रममा बाबुको मृत्युले आफू निकै दु:खी भएको बताएका छन्।

इरफानको मृत्युले आफूलाई निकै समय बाहिरी दुनियाँमा निस्किएर हिँड्न गाह्रो भएको बाबिलले बताएका छन्। उनले बुवाको मृत्युपछि ४५ दिनसम्म आफूलाई काठोमै थुनेर राखेको बताएका छन्।

बबिलले बलिउड बबललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘पापाको मृत्युको पहिलो दिनमा मलाई विश्वास नै लागेन। एक हप्तापछि जब मेरो हृदय र दिमागले स्वीकार गर्‍यो कि यो केही भयो, यसले मलाई हल्लायो र त्यसपछि मेरो अवस्था धेरै खराब भयो। मैले आफूलाई ४५ दिनसम्म कोठामा थुनेँ।’

बाबिलले थपे, ‘त्यसबेला पापाले धेरै सुटिङ गर्नुहुन्थ्यो, त्यसैले धेरै समयसम्म सुटिङमा जानुहुन्थ्यो। जब उनको मृत्यु भयो, मैले आफूलाई कुनै न कुनै रूपमा आश्वस्त पारेँ कि उनी सुटिङको समयतालिका सकेर फर्कनेछन्। तर त्यसपछि मैले बिस्तारै महसुस गर्न थालेँ – यो कहिल्यै अन्त्य नहुने सुटिङ तालिका हो।’

उनले बाबुको मृत्युले आफूलाई निकै टुटाएको उल्लेख गर्दै भनेका छन्, ‘अब कहिल्यै फर्केर आउँदैन। मैले मेरो सबैभन्दा मिल्ने साथी गुमाएँ। यो पलले मलाई यति धेरै टुक्र्याएको छ कि म शब्दमा व्यक्त गर्न सक्दिनँ। तर म उनको सम्झनाबाट सकारात्मक छु।’

इरफान खानलाई सन् २०१८ मा न्युरोएन्डोक्राइन क्यान्सर भएको पत्ता लागेको थियो। करिब २ वर्षदेखि उनको उपचार भइरहेको थियो। तर अप्रिल २९, २०२० मा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here