तरुल र चाकुको व्यापार फस्टायो

168

काठमाडौं । माघे सङ्क्रान्ती नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे सङ्क्रान्तीका लागि तरुल किन्न जानेहरूको भीड देख्न सकिन्छ ।

तरुलको मूल्य विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायतका जिल्लाहरूबाट तरुल ल्याइएको व्यापारीहरूको भनाइ छ ।

कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुलको सिजन माघे सङ्क्रान्तीमा मात्रै भएकाले पनि सङ्क्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताउँछन् ।

मानिसहरू कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने उनको भनाइ छ । अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरूबाट तरुल आइरहेको उनको भनाइ छ ।

‘माघेसंक्रान्तीको बेलामा मात्रै हुने भएकाले यो नाफा घाटाको कुरा कत्तिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ,’ पोखरेलले भने, ‘सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटबाट आउँछन् ।’

त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भए पनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताउँछिन् । उनले माघे सङ्क्रान्तीका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताइन् ।

गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको सिलवाल बताउँछिन् । यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने शंका रहेको उनको भनाइ छ । पछिल्लो केही दिन यता तरुल बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने उनले बताइन् ।

‘२ गाडी तरुल ल्याएर राखेकी छु । नवलपरासीबाट ल्याएको छु । व्यापार पोहोरको जस्तै छ,’ सिलवालले भनिन्, ‘बढी, घटी छैन । सामान यसपाली बढी आयो भने भाउ सस्तो हुन्छ जस्तो लागेको छ ।’ माघे सङ्क्रान्ती नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ ।

चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । माघे सङ्क्रान्तीको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरालगायत खाएर हर्षोल्लाससहित यो पर्व मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here