अर्घाखाँची । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ।
नवलपरासीको भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा परि अर्घाखाँची शितगंगा ५ जुकेना गल्डुङ निवासी ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक पौडेल हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएका थिए।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठोक्कीएर घाइते भएका पौडेलको जिल्ला अस्पताल परासी पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए। दुर्घटनामा परि कारमा सवार एक जना घाइते भएका छन्।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


















