काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको पहिलो खेल ललितपुरका दुई क्लबहरु फ्रेण्ड्स र एफसी खुमलटारबीच हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार एक कार्यक्रमका बीच खेलतालिका निर्धारण गरिएको हो । ए डिभिजन लिगका खेलहरु च्यासल मैदान र दशरथ रंगशालामा खेलाइनेछ । पुनर्निर्माण गरिएसँगै पहिलोपल्ट च्यासलमा ए डिभिजन लिगका खेलहरु सन्चालन गर्न लागिएको हो । लिगका खेल दिउँसो साढे २ र साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।
लिगको दोस्रो दिन फागुन २० गते ३ खेल हुनेछन् । नेपाल पुलिसले नवप्रवेशी चर्च ब्वाइजसँग च्यासल रंगशालामा खेल्नेछ भने एपीएफ र थ्रीस्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । सोही दिनको तेस्रो खेल दशरथ रंगशालामा मनाङ मर्स्याङदी र हिमालयन शेर्पाबीच हुनेछ ।
फागुन २१ गते पनि तीन खेल हुनेछन् । च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र सातदोवाटो युथ क्लबबीच खेल हुनेछ । सोही समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र संकटाबीच खेल हुनेछ । दिनको तेस्रो खेल लिगको साविक विजेता मछिन्द्र र जावालाखेलबीच हुनेछ । एन्फाले सुरुवाती पाँच चरणसम्मको तालिका सार्वजनिक गरेको छ ।


















