आम नेपालीमा एमाले अध्यक्ष ओलीद्वारा वसन्त पञ्चमीको शुभकामना सन्देश

39

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा वसन्त पञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । स्वदेश तथा विदेशमा रहनु भएका आम नेपालीमा उहाँले शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।

प्रज्ञाप्रकाशको प्रतीकका रूपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाइँदै आएको यस पर्वका अवसरमा काव्य विनोदीः स्रष्टा, सर्जक, साहित्य, सङ्गीत र कला साधक तथा ज्ञानका अध्येताहरूमा उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश (विस्तृत)

वसन्त पञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रज्ञाप्रकाशको प्रतीकका रूपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाइँदै आएको यस पर्वका अवसरमा काव्य विनोदीः स्रष्टा, सर्जक, साहित्य, सङ्गीत र कला साधक तथा ज्ञानका अध्येताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रूपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिष कालदेखि सनातन रूपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रूपमा लिइएको छ । वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रूपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्प सुगन्ध फैलिन्छ, रुखहरूमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गिन पुतलीहरूको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यता अनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकास क्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रूपमा सरस्वतीलाई लिइन्छ ।

नेकपा (एमाले) नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरूको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ । यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूर दृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरू सहित नेकपा (एमाले) अघि बढिरहेको छ । देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस उद्देश्यमा एकताबद्ध हुन म सबैमा आह्वान गर्दछु ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ । त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ । ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्म जयन्तीका रूपमा मनाइने वसन्त पञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरूमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।

१२ माघ २०७९

केपी शर्मा ओली

अध्यक्ष नेकपा (एमाले)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here