घुन्सामा अझै हिउँ परेन

46

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो ।

उहाँ विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्नु हुन्थो । तर यस वर्ष भने काठमाडौँ नै पुग्नुभएको छ । हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुग्नुभएको छ । पेमा र उटुक दुई जनाले मात्र हिउँ छल्न गाउँ छोडेको भने होइन । गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुगेका छन् ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन् । गत मङ्सिर सुरु भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सरमुकाम फुङ्लिङ बजार कोही पुगेका छन् भने कसै काठमाडौँ पुगेका छन् । अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन् । यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ । जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ । केही चौँरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताउनुभयो ।

विगका ताप्लेजुङको हिमाली क्षेत्रमा विगका वर्षमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो । तर अहिले हिमाली क्षेत्रमा हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ । मङ्सिर तेस्रो साता हिउँ छल्न गाउँ छोडेर काठमाडौँ पुग्नुभएको पेमा शेर्पाले  भन्नुभयो, “हिउँ पर्छ भनेर गाउँ छोडेर काठमाडौँ पुगेको दुई महिना भयो । तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन । मैले हिजो मात्र गाउँमा फोन गरेको थिएँ ।” माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौँ छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताउनुभयो ।

समुद्र सतहदेखि चार हजार दुई मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपाकिा—७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसंगै आहिले निराशामा हुनुहुन्छ । याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आउनुभएको हो ।

अहिले शेर्पाले हिमालहरु काला पत्थर जस्तै भएको हिमाल हेर्दै दिन बिताउनु हन्छ । चिन्तित हुदै उहाँले भन्नुभयो “हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो । हिमाल सुख्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्का हुदै गए पछि घाँस उम्रीदैन । घाँस नभए पनि चौंरी याकहरु तिर्खा र भोकले मर्ने छन्” याङ्मा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुदैन । त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुँदै गएपछि चिन्ताले पिरोल्न थालेको हो ।

“हिमालमा हिउँ पग्लदै गएको छ । खेतबारीहरु सुख्खा हुँदै छन् ।” सिरिजङ्घा गाउँपाििलका—६ मामांखेका लोकेन्द्र लिम्बूले भन्नुभयो “बारीमा जौं  गहुँ खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ । केही कसैले त पाइपमा पानी ल्याएर स्प्रिङ्कल  (सिँचाइ गर्ने एक प्रकारको मेसिन) खेतबारीमा घुमाउँदै छन् ।” अहिले लिम्बूको दैनिकी नै अलैँची बगानमा सिँचाइ गर्न व्यस्त हुनुहुन्छ । पानी नपर्ने र हुरी बतासमात्र चल्ने भएकाले खरेडीबाट अलैँची बगान जोकाउँनका लागि बिहान बेलुका अलैँची बगानमा सिचाई गर्न व्यस्त भएको लिम्बूले बताउनुभयो ।

जिल्लाका किसानलाई यतिखेर आलु रोप्न समय भए पनि तर हिमाल हिउँ पग्लदै गएर कालो पत्थर जस्तै हुदै गएको छ पानी परेको छैन । रोपेको आलु उम्रन नपाई सुक्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको फक्ताङलुङ गाउँपालिका—६ का किसान बिर्खबहादुर फेम्बूले बताउनुभयो । विगतका वर्षहरुमा मङ्सिरको दोस्रो साता देखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । तर यस वर्ष भने माघ लाग्दासमेत हिउँ नपरेको समुद्र सतहदेखि तीन हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका—६ फलेका पेम्पा फुटी शेर्पाले बताउनुभयो ।

विगतमा यातायातका साधनहरुको चाप कम हुन्थ्यो विस्तारै विकास निर्माणसंगै मानिसको चाप र यातायातको चाप बढ्दै गएकोले मधे तिरको हुस्सु हिमाली क्षेत्रमा फैलिन थालेको फुङ्लिङ नगरपालिका–५ का निर्मला विक्रम माबोहाङको भनाइ छ । अहिले हिमालमा स्नो लाइन(हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक चितेन चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ । हिउँ समयमै नपर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष वातावरणमा असर पुर्याएको हुन्छ ।”

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँ चितुवाको विशेष बासस्थान मानिन्छ । हिउँ नै पग्लिँदै गएपछि हिउँ चितुवा सङ्कटमा पर्न सक्ने चेम्जोङले चिन्ता व्यक्त गर्नुभयो । विकाससँगै सहरदेखि गाउँ–गाउँमा औद्योगीकरण, यातायात साधनको चाप वृद्धि भएसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्ने जस्ता समस्या देखापर्न थालेको लामो समयदेखि जैविक विविधता क्षेत्रमा काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ । समयमै हिउँ नपरेकाले जोखिम पनि त्यत्तिकै बढ्दै गएको उहाँको भनाइ छ ।

हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन जङ्गल सुख्खा हुने भएकाले वन जङ्गलमा ढडेलो लाग्ने ठूलो सम्भावना रहेको कार्यक्रम संयोजक राईले बताउनुभयो । वन जङ्गलमा रहने वन्यजन्तुको स्थानान्तरण हुँदै जाने उहाँको भनाइ छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here