काठमाडौं । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
बिहीबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सीआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को२ह ३०४४ नम्बरको अटो चेकजाँच गर्ने क्रममा लुकाएर राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका- ११ का ३७ वर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी- १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आशिष पटेल रहेका छन्।
नेपाल समय यस्तै इटहरी- १२ का २७ वर्षीय अरुणकुमार सरदार र देवानगञ्ज गाउँपालिका-५ का २३ वर्षीय मिथिलेस यादवलाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।


















