विश्व मातृभाषा दिवस एक सन्दर्भ

216

सन्तोष नेम्बाङ इलाम

युनेस्कोले सन् २०२३ फेब्रुअरी २१ तारिखका दिनलाई विश्वमातृभाषा दिवश “ Multilingual education – a necessity to transform education”   अर्थात “बहुभाषिक शिक्षा – शिक्षा रुपान्तरणमा आवश्यकता ” भन्ने नाराका साथ मनाउने निर्णय गरेको छ ।
एक आदिवासी समुदायको लागि उनीहरुको मातृभाषाको रुपमा बोलि आएको भाषाको प्रयोग गर्नमा सबभन्दा महत्वपूर्ण शैक्षिक क्षेत्र नै हो । शैक्षिक क्षेत्रबाट भविष्यको दरिलो भरिलो जनशक्ति उतपादन गरिने हुँदा यस क्षेत्रमा समाजले कुन रुपमा लगानी गरेको छ त्यही रुपमा त्यस समाजको उन्नति प्रगति पथमा राम्रो परिणाम दिने हुन्छ । अधिकांश स्थानमा आदिवासी समुदायका मानिसहरु सामाजिक,सांस्कृतिक,आर्थिक, राजनैतिक रुपमा अन्य समुदायको तुलनामा पछि पर्नुको मुख्य कारण भनेको उनीहरुको निम्ती शिक्षामा पहुच नहुनु नै हो । एकातिर राज्यको असमान शिक्षा निती प्रणालीले गर्दा आदिवासी समुदायको क्षेत्रमा शिक्षा प्राप्त गर्ने सुविधा नहुनु,शिक्षालयको सुविधा भए पनि कतिपय स्थानमा जातिय विभेदको कारणले आदिवासी समुदायहरुलाई निषेध गरिएको वा उनीहरुले शिक्षा प्राप्त गर्न लगानी गर्ने क्षमता नहुने अवस्था पनि छ ।
तर यो भन्दा पनि ठूलो कुरा के छ भने शिक्षालयबाट जुन शिक्षा दिइन्छ त्यसको शिक्षण माध्यम सामान्य तथा उनीहरुले नबुझेको वा उनीहरुको गैर–मातृभाषाको माध्यमबाट सिकाइने भईरहन्छ । यसले गर्दा विद्यालय जाने एकजना बच्चाले नबुझेको भाषाको कारणले गर्दा प्राथमिक तहदेखि नै एउटा अस्वभाविक बाधाको स्थिति सृजना हुन्छ । यहि कारणले गर्दा धेरै जसो अभिभावकले त्यस्ता विद्यालयहरुमा आफ्ना भाषाको गौरवता र आत्म सम्मान गुमाएको महसुस गर्छन् । विद्यालय जानेहरु पनि भाषाको कारणले कठिनताको अनुभवले बीचैमा छाड्ने स्थिती पनि आएको उदारणहरु हामीले अनुभव गरेका छौ । कवि तथा लेखक उपेन्द्र सुब्बाको लाटो पहाड पुस्तकको अनुभवमा “ एक दिन – भूगोल पढाउने मिस शर्मिला ओझाले विद्यार्थी केशमानलाई अघिल्लो दिन पढाएको पाठबारे सोधिन् ल, केशमान भन त हिरा कहाँ पाइन्छ ? कक्षामा एकाएक केटाकेटीहरुको हाँसो गुञ्जियो । हाँस्ने केटाकेटीहरुजति लिम्बू थिए । चुप – मिस कराइन । कोठा शान्त भयो । लु भन, केशमान हिरा कहाँ पाइन्छ ? उसै त घोसे केशमान केही बोलेन । अझै निहूरिएर भईतिर घोप्टियो । “टेर्दैन त मिसको रिसको पारो चढ्यो । उनले डस्टर टिपेर केशमानको टाउकोमा हिर्काइन । बोल्दैनस् घोसे लिम्बूको छाउरा । भन् हिरा कहाँ पाइन्छ ? तब केशमानले टाउको उठायो । उताउता गरेर झ्यालतिर हेरिसकेर मिसलाई सिधा हे¥र्यो अनि मिसको कम्मरमुनिको भागतिर औंलाएरै भन्यो , तइँले नै लुकाको छस् । फेरि कोठामा हाँसोको फोहरा छुट्यो । लिम्बू गाउँमै हुर्किएकी शर्मिला मिसलाई त्यति बेला पो हेक्का भयो । लाजले रातोपिरो भईन् । उनले चुप भन्नसम्म भियाइनन् , केशमान झ्यालबाट उफ्रेर भागी हाल्यो । त्यस पछि केशमान कहिल्यै स्कूल गएन । यस्ता यर्थात किस्साहरु हाम्रो समाजमा धेरै छन् । अर्को एक किस्सामा लिम्बू मातृभाषी विद्यार्थी हालको बरिष्ठ पत्रकार राजकुमार दिक्पालले विद्यालय पढ्दाताका कक्षामा भ्यागुताको चित्र देखाएर सोधिएको प्रश्नमा ‘पेदक’ उत्तर दिँदा शिक्षकको निर्धात पिटाई खानु भएको घटना के भाषिक अत्यचार होईन र ? हाम्रा सात आठ कक्षाका भाई बहिनीहरुले पढिरहेछन्–तामाङ,मगरहरु भरिया हुन । मैले पनि यहि भनेर पढेकै हुँ । यसले कलिलो मस्तिष्कमा कस्तो मनोबैज्ञानिक असर गर्ला । तामाङ,मगरहरुको आत्मासम्मानलाई कहाँ पु–याउला । यी त प्रतिनिधि पात्रहरु मात्र हुन ।
सम्भवत यही कारणले गर्दा हो धेरै जसो आदिवासीहरुमा साक्षरताको प्रतिशत उकालो लाग्न नसक्नु । तर यो भन्दा पनि भयानक र गम्भिर परिणाम हो आदिवासी समुदाय अन्र्तगत फस्टाउने भाषा विचलन को प्रवृत्ति हो । विद्यालयमा आफ्नो मातृभाषाको माध्यमबाट पढन नपाइने वातावरणले गर्दा बालककाल देखि नै गैरमातृभाषा बोल्ने,लेख्ने र पढ्नु पर्ने भएको हुदा उनीहरुले मातृभाषा छोड्नु पर्ने स्थिति सबभन्दा चुनौति हो । यहि कारणले गर्दा विश्वका अधिकांश मातृभाषाहरु लोप हुदै जाने क्रममा छ । जस्तो हाल नेपालको जनजणना २०६८ अनुसार १२३ वटा भाषाहरु छन् । यस्तै प्रवित्ति रहने हो भने इलामका प्राचिन आदिवासी लेप्चा, पश्चिम नेपालका दुरा, कुशुण्डा, राई समुदायको कोयु, धुक्वा, पुमा, वाम्वुले, जस्ता दर्जौनौ भाषाहरु २१ औ शताब्दीसम्म लोप हुने अवस्था देखिन्दै छ । छिमेकी मुलुक भारतमै पनि हाल ९०० मातृभाषाहरु जिवित छन । २२० मातृभाषाहरु विगत ५० बर्षको अवधिमा लोप भए भने आउदो ५० बर्ष भित्र थप १५० भन्दा बढी मातृभाषाहरु लोप हुने क्रममा रहेको भाषा सर्भेक्षकहरुले नै बताएका छन् ।
यसरी शिक्षाको माध्यमबाट भाषाहरु संरक्षण गर्न सकिएन भने मानव समुदायले श्रृजनाको अन्त्य हुनु हो ।

“भाषा बाँचे जाति बाच्छ , जाति बाँचे देश बाँच्छ” यो शब्दावली कुनै समय इलाम चोक बजार स्थित दाई विमल बैद्यको समानता क्लिनिकको सिसाका दराजमा टाँसिएका थिए । अनि सम्झने गर्थे विश्व भाषाशास्त्रि डेरिललाई “यति तिमी बाँच्न चाहन्छौ भने अरुको भाषा सिक तर,सधैं सधैं बाँच्न चाहन्छौ भने आफ्ना् मातृभाषा सिक” । भाषा कुनै एक जाति वा समुदायको पहिचानको सबभन्दा ठूलो आधार भनेकै त्यस समुदायका मानिसहरुले आफ्नो मातृभाषाको रुपमा बोलिन्दै आएको भाषा हो । मानिसहरुको विचारको आदान प्रदान गर्ने माध्यम नै भाषा हो । त्यसैले प्रत्येक मानविय समुहहरुको आआफ्ना व्यावहारिकता सुहाउँदो भाषा नै हुन्छ । नेपालको सन्दर्भमा १२३ भाषाहरु रहेको २०६८ को जनगणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । मानविय समुदायको विकासको क्रममा कतिपय भाषा सुसंस्कृत,उन्नत र विकसित रुपमा पाइन्छ भने कतिपय आदिम स्थितिमा रहेका छन् । यसरी नै भाषा बोल्ने मानिसहरुको गणना पनि थोरै वा धेरै छ । एउटा भाषा धेरै प्रचार प्रसार भएर अंग्रेजी जस्तै विश्व भरी फैलिएको छ । चिनिया भाषा जस्तो बोल्ने मानिसहरुको संख्या अरबौं पनि छ वा इलामका लेप्चा भाषी समुदाय जस्ता दुईचार जनामा सिमित पनि छ ।
हाम्रो देशमा लेख्य परम्परा नभएका भाषाको संख्या धेरै छन् । यस समुदायमा राज्यको सकरात्मक दृष्टीकोण नपुगेको कारण उनीहरुलाई अशिक्षा र गरिबिले खुल्नै नसक्ने गरी च्यापेको छ । अनि आफ्नो भाषा र सस्कृतिको महत्वबारे केही ज्ञान पनि छैन । तसर्थ यस्ता समुदायले बोल्ने मातृभाषाहरु दिनानु दिन लोप हुन लागेका छन् । यस्ता परिवारका बुढापाकाहरु मातृभाषा बोल्ने गरेता पनि दोस्रो पुस्ताले बुझ्ने सम्म गरेको पाईन्छ भने तेस्रो पुस्ताले बुझे पनि प्रयोग गर्दैनन् ।
तर मानव समाजमा भएको यस प्रकारको भाषिक बहुलतालाई सामाजिक सौन्दर्यको रुपमा नभई एउटा समस्या वा बोझको रुपमा बोध गर्ने मानसिकताले गर्दा भाषिक विविधताको बदला एकरुपता ल्याउनु पर्छ भनी त्यसको लागि राज्यले बल प्रयोग गर्ने परम्पराको तितो अनुभव हामीले पनि गरेका छौ । जसको जलन्त उदारण उपत्यकामा कवि सिद्धिचरण श्रेष्ठ, चित्तधर हृदय, केदारमान व्यथितले मातृभाषामा कविता छपाइका कारण जेल जीवन भोग्नु नै हो । पूर्वमा किरात लिम्बू भाषालिपीलाई प्रचार प्रसार गर्दा वि.स.१७४१ मा श्रीजंगासिं थेवेको हत्या नै भयो । लालसोर सेन्दाङ बिदेशीनु पर्यो, समाजसुधारक विभुति फाल्गुनन्दले देशद्रोहको मुद्दा पनि खेप्नु पर्यो । पञ्चयतकालमा प्राज्ञ पुष्प थाम्सुहाङ, इलाम पशुपतिनगरका एल.वि. सुब्बाले पनि लुकिछिपी लिम्बू लिपीहरु सिकाउँदा अराष्ट्रिय तत्व भनेर विल्ला भिराइयो । हुँदा हुँदा बहुदलिय व्यवस्थाताका समेत वि.स. २०५६ जेष्ठ १८ गते सवोच्च अदालतले स्थानिय निकायमा नेपाल भाषा र मैथिली भाषालाई आधिकारिक रुपमा प्रयोग गर्न नपाइने भनि एकतर्फि गरेको फैसलालाई अझै पनि नेपालका आदिवासीहरुले जेष्ठ १८ गतेलाई कालो दिवसको रुपमा लिन्छन् । राजा महेन्द्रले प्रयोग गरेको एक भाषा एक भेषको नीतिले झन अदृष्य रुपमा भाषिक विभेद मौलाउने पायो । जसको परिणमा एक भाषाले अर्को भाषालाई दमन गर्ने वा लोप गराउने कार्य भयो । त्यसैको परिणाम स्वरुप नेपालका धेरै भाषाहरु त्यसै लोप भएर गयो । अहिले पनि मानिसहरुले बोलिरहेका कतिपय भाषा विस्तारै लोप हुँदै जाने स्थितिमा पुगिरहेका छन् । यो भनेको एक भाषाको मृत्यु मात्र नभई त्यो भाषा बोल्ने समुदायको पहिचानको मुल आधार नै लोप गराउनु हो । विश्लेषण गर्दा के देखिन्छ भने यसरी आफ्नो मातृभाषा लोप हुँदै जाँदा कतिपय समुदायका स्वतन्त्र पहिचान नै अत्य भई कालान्तारमा त्यस समुदाय स्वंम अन्य समुदायमा सम्मिलन भई गएको धेरै उदारणहरु हाम्रै समाजमा छन् । त्यसैले एउटा आदिवासी समुदायको पहिचानको संरक्षण भनेको मुलत त्यस समुदायका मानिसहरुले बोल्ने मातृभाषाको संरक्षण हो । एउटा आदिवासी समुदायको मातृभाषाको निम्ति व्यवहारमा प्रयोग गर्ने अधिकार प्रत्याभुत नभए सम्म सहि अर्थमा त्यस समुदायको पहिचान रक्षाको लागि अधिकार प्राप्ति भयो भन्ने कुराको पुष्टी हुँदैन ।
भाषाको उपदेयता भनेको व्यहारिक प्रयोग हो । इलाम नगरपालिका भानुपथमा दुईदशकदेखि रेडीमेड कपडा पसल गर्नु हुने चुडामणी रिजालको अनुभवलाई लिन सक्छौ । गैर लिम्बू उहाँ भन्नुहुन्छ “ हामीले सकेसम्म धेरै जातीकोभाषा जान्नु त गौरवको कुरा हो , मैले लिम्बू,राई समुदायका मानिसहरुसँग मातृभाषामा बोल्दा उनीहरुले अपनत्वको महसुस गर्छन् जसले गर्दा भाषाले मेरो व्यवसायलाई पनि सहयोग पुगेको छ , यस्ता भाषाहरु व्यवहारमा मात्र नभएर अन्य क्षेत्रमा पनि प्रयोग भए कति राम्रो हुन्थ्यो नि । ” नेपालको अन्तरिम संविधानको धारा ५ ले नेपालमा बोलिने सबैजातिको भाषा राष्ट्र भाषा भनि उल्लेख गरेको छ । संविधानको धारा १७ को मौलिकमा आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकार उल्लेख गर्दै स्थानिय क्षेत्रमा मातृभाषामालाई प्रयोग गर्ने अधिकार समेत उल्लेख गरिएको छ । तर कुनै एउटा भाषालाई निश्चित क्षेत्र वा प्रयोजनको निम्ति प्रयोग गर्ने अधिकार प्राप्त नभए सम्म त्यस भाषालाई वास्तविक अधिकार भयो भन्न सकिन्दैन । सामान्य भाषाको प्रयोगको क्षेत्रको रुपमा शिक्षा, संञ्चार, न्याय सेवा, प्रशासन, साहित्य, लिपी,सस्कृति,मौलिक ज्ञान र प्रणालीहरुलाई लिन सकिन्छ ।
यसका लागि के गर्न सकिन्छ ?
हाम्रो भाषिक विविधितालाई बचाएर राख्ने हो भने धेरै अवसर,सम्भावना र उपाय सँग सँगै चुनौतीहरु छन् । त्यसमा पनि आफ्नो मातृभाषालाई लेख्य रुपमा वा विद्युतिय साधनका सहायताले अभिलेखिकरण गर्न सकिन्छ । मातृभाषाको लोकोक्ती, उखानटुक्का, लोककथा,लोकगीत,लोकजीवन,संस्मरण,सम्वाद,मुन्धुमहरुलाई छापा तथा विद्युतियमाध्यमहरुमा व्याख्या विश्लेषण गरेर छपाई राख्न र वेवसाइडमा समेत राख्न सकिन्छ । आदिमकाल देखि इतिहास बोकेका हाम्रा गाँउबस्ती, मठमन्दिर,खोलानाला,वनजंगल,हिमाल पहाडका नामकरणहरु आधुनिकताको नाममा अप्रभंश नपारी यथावत नै कायम रहन दिनुपर्छ । साना तथा ठूला शब्दकोष र व्याकरणका रुपरेखाहरु तयार पारेर सुरक्षित राख्न सकियो भने भविष्यमा संग्राहलयमा धाउनु नै पर्दैन । यसरी अभिलेखन गरेर राखिएको भाषा लोप भएर भविष्यमा पुनजीवित पार्न सकिन्छ । भाषाका शब्दहरु,वाक्य, रचनात्मक बिषयबस्तुहरु सुरक्षित राख्न सकिएको खण्डमा लोप भईसकेको भाषालीपि पुर्नस्थापित गराउन सकिने उदारण इजरायलको हिब्रु भाषालाई लिन सकिन्छ । यसर्थ भावि पुस्ताका लागि आफ्नो पहिचानको भाषा,लिपी,सस्कृति र इतिहास उपहार दिने हो भने भाषालिपीको अध्ययन अनुसन्धान गरेर अभिलेखिकरण गर्नु वर्तमानका पुस्ताहरुको काँधमा जिम्मेवारी आईपरेको छ । अहिलेको ‘भच्र्युअल’ संसारमा विज्ञान र प्रविधिसँग रमाउने पुस्ताहरुले सकेसम्म आफ्नो समदायमा सम्पर्क हँुदा मातृभाषालाई प्राथमिकता दिऔं । हामीले अब केही दिन पहिला १४ फेबु्रअरीको प्रेमदिवसलाई मनाए जस्तै सभ्य र भब्यरुपमा २१ फेब्रुअरीलाई मातृभाषा दिवसको रुपमा विश्वभरी नै मान्न र मनाउन सकौं । सबैलाई ग्लाल्पो लोसारको शुभकामना सहित नोगेन सेवारो ।

[email protected]

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here