दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !

29
राजनीतिक दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने सहमति हुन नसकिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य बाहिरिएको छ । पूर्वराजा शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका हुन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने उनले जनाएका छन् । पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक विग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ । राज्य सत्ताको बागडोर ज–जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ । बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले जनाएका छन् ।
मुलुकमा प्रजातन्त्र दिवस मनाइरहेको बेलामा डेढ दशकअघि जनआन्दोलनबाट फालिएको संस्थाका प्रमुख शाहले अहिले यस्तो वक्तव्यबाजी गर्ने अवस्था आउनु त्यस आन्दोलन र मुलुकका लागि पनि लज्जास्पद अवस्था हो । हुन त पूर्वराजा शाहले बेलाबेलामा यस्तो वक्तव्यबाजी गर्दै राजनीति दल तथा तिनका नेतालाई निशाना बनाउँदै आएका छन् । पछिल्लो समय त व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा शाहलाई कार्यक्रममा ल्याएर राजतन्त्र फर्काउने घोषणा गरेपछि उनी पनि झनै हौसिएका छन् । त्यसैले यसपटक एक कदम अघि बढेर शाहले राजनीतिक दलहरुलाई सहकार्यको प्रस्ताव गरेका छन् । नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने चेतावनीपूर्ण भाषा पनि प्रयास गरेका छन् ।
पूर्वराजाबाट आएको यस्तो वक्तव्य सत्ता र शक्ति गुमाउनु पर्दाको पीडा हो भन्ने राजनीतिक दलको विगतको भाष्यलाई भने यसपटक मान्न सकिँदैन । पछिल्लो डेढ दशकमा जनताको हातमा आएको देशको बागडोरको जिम्मा केही दल तथा नेताले सिन्डिकेटको रुपमा चलाएपछि जनतामा चरम निराशा र वितृष्णा बढेको छ । विकास र निर्माणभन्दा पनि अनियमितता, भ्रष्टाचार र दण्डहीनताका कारण जनता राजनीतिक दलसँग आजित भइसकेका छन् । त्यसकारण कोही नयाँ नेतृत्व र दल आउँदा उनीहरुले पो केही गर्छन् कि भन्ने आशा र विश्वास जनताले गर्न थालेका छन् । यो पुराना दलका लागि ठूलो चुनौती हो । यस्तो चुनौतीमा पूर्वराजा पनि थपिएका छन् । पुरानाको तुलनामा नयाँ दल आउनु राम्रो मान्न सकिए पनि राजतन्त्र नै फर्काउने प्रयास हुनु भने मुलुकका लागि दुर्भाग्य हो । यसको एउटै समाधान भनेको दल तथा नेताले आत्मशुद्धीकरणलाई ध्यान दिने हो । पछिल्लो समय दलहरुको अनियमितता र विवादका कारण जनताले विश्वास गर्न छोडिसकेका छन् । त्यसलाई सुधार्न राष्ट्रिय सहमति कायम गर्न आवश्यक छ । सत्ताको लुछाचुँडी छोडेर विकास निर्माणमा एकजुटता कायम गर्न सके आगामी केही वर्षमा नै सुधारको लक्षण देख्न सकिन्छ । त्यसपछि पूर्वराजा र राजाबादीहरुको अहिलेको सक्रियता पनि स्वतः कम हुनेछ, आगे गणतंत्रका दलका महाराजहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here