काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पुरानो गठबन्धनमा भएका राजनीतिक दलहरुबीच लिखित सहमतिको तयारी भएको छ ।
सके आजै बेलुकासम्म नभए पनि राष्ट्रपति उमेदवारी दर्ताअघि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बुधबार बेलुका बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले पुरानै गठबन्धन ब्युँताउने र सत्ता बाँडफाँटमा लिखित सहमति गरेर अघि बढ्न तयार रहेको प्रस्ताव राखेका थिए ।
“हामीले प्रतिनिधिसभा चुनावअघिकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढाएका छौं, बिहीबार दिनभरको कसरतपछि बेलुका लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको छ,” कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “हामी प्याकेजमै सहमति गर्छौँ ।”
बैठकमा दाहालले सरकारको नेतृत्त्व आफूले चार वर्ष गर्ने, एक वर्ष माधव नेपाललाई दिने र राष्ट्रपति कांग्रेसले लिने प्रस्ताव राखेका थिए । कांग्रेस नेताहरुले दुई दुई वर्ष कांग्रेस र माओवादीले लिएर एक वर्ष माधव नेपाललाई दिनुपर्ने भनेका थिए ।तर दुवै पक्षले अहिले सत्ताको विषयलाई विवादमा नल्याई सहमतिकै आधारमा टुंगो लगाउने निष्कर्ष निकालेका थिए ।
“हामी पुरानै गठबन्धन ब्युँताउने समझदारीमा पुग्यौं,” कांग्रेसका एक नेताले भने, “तर बाँकी शक्ति बाँडफाँट कसरी गर्ने भन्ने अन्तिम टुंगो लागेको छैन ।” देउवाले आफ्नो निवास धुम्बाराहीमा कांग्रेसका प्रभावशाली नेताहरुसँग कुराकानी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेका थिए ।
यादवलाई देउवाले मिलेर अघि बढ्न र राष्ट्रपति निर्वाचनमा आफ्ना उमेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । यादवले आफूहरु निर्णायक नभएको भन्दै पुरानो गठबन्धन ब्युँताउन आफुहरु तयार रहेको बताएका थिए । “कांग्रेस सभापतिले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभयो,” अध्यक्ष यादवले बाह्रखरीसँग भने, “मैले हामी निर्णायक होइनौँ, तपाइँहरु मिल्नुस् हामी साथमा छौँ भन्नुभयो ।” उनले शक्ति बाँडफाँटको विषयमा कुनै कुरा नभएको बताएका थिए । शक्ति बाँडफाँटका विषयमा कुनै कुरा नभए पनि चुनावअघिको गठबन्धनको विषयमा कुराकानी भएको उनको भनाई थियो । त्यसलगत्तै देउवाले माधव नेपालसहित सो पार्टीका नेता घनश्याम भुसाल र बेदुराम भुसालसँग कुराकानी गरेका थिए ।
उनीहरुसँगको छलफलपछि बालुवाटार पुगेका देउवाले पुरानै गठबन्धन ब्युँताउने, राष्ट्रपति कांग्रेसलाई दिन प्रस्ताव गरेका थिए । दाहाल र देउवाबीच सरकारको नेतृत्त्व एक वर्ष माधवकुमार नेपाललाई दिएर भए पनि सहमतिमा ल्याउनुपर्नेबारेमा छलफल भएको थियो ।
बालुवाटार बैठकमा सहभागी कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार यो विषयले आजको बैठकमा निरन्तरता पाउनेछ । “हामीले सहमतिमा हस्ताक्षर गर्दा पावर सेयरिङको पनि कुरा हुन सक्छ,” उनले भने, “अहिले राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसले छलफल गरेर उमेदवार टुंगो लगाउनेछ ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लगातारको भेटमा पनि कुनै सहमति कायम हुन नसकेको भन्दै प्रधानमन्त्री दाहालले विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्ने बताएका थिए । “ओलीसँगको छलफल सकारात्मक हुन सकेन, दुई घण्टाको भेटमा करिब करिब उहाँमात्रै बोल्नुभयो, चेतावनीको भाषा थियो,” दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बुधबार बेलुका बालुवाटारमा भएको भेटबारे भने, “हामीले अस्तिको कुरा पुनः सम्झायौँ । हामीले पुस २६ गते विश्वासको मत दिएका छौँ । राष्ट्रपतिमा सहयोग गर्नुस् भनेर आग्रह पनि गरेका छौँ । राष्ट्रपतिमा हामीले उमेदवारी दिन्छौँ तपाइँहरु सहयोग गर्नुस् भनेर भन्यौँ ।”
दाहालले पनि पार्टीले आफूलाई जिम्मेवारी दिएको हुँदा बिहीबार बिहानसम्म निर्णयमा पुग्ने आश्वासन दिएका थिए । दुई पार्टीका नेताको छलफलमा माधवकुमार नेपालको भूमिकाका बारेमा पनि कुराकानी भएको स्रोत बताउँछ । “माधवकुमार नेपालले केपी शर्मा ओलीसँग छलफल गरेर यता बार्गेनिङ पावर बढाए,” छलफलमा सहभागी एक नेताले भने, “उहाँले पनि सरकारको नेतृत्त्व एक वर्ष गर्ने गरी समझदारी बन्न सक्छ ।”
प्रचण्ड छाडेर ओलीसँग जान चाहँदैनन् माधव नेपाल !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालकोटको बेवास्तामा परे । नेकपाकालदेखिकै विवाद र पार्टी विभाजन नै गरेपश्चात् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालको सम्बन्ध एकदमै तिक्ततापूर्ण थियो ।
दुई नेताहरु एक अर्काको खेदो खन्नमा नै व्यस्त थिए । लामो अन्तरद्वन्द्वकाबीच यसैसाता दुई नेताले सँगै चार घण्टा बिताए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बालकोटमा माधव नेपाललाई नलैजानुको कारण थियो– केपी शर्मा ओलीको व्यवहार र बेवास्ता । तर उनै ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई खोजे र चारघण्टा बिताए ।
राष्ट्रपति पदको निर्वाचन पेचिलो बन्दै जाँदा दुई नेताबीच संवाद भएको थियो । संवादको पहल भने ओलीबाटै भएको एकीकृत समाजवादीका एक नेता जिकिर गर्छन् । “भेट्ने कुरा त पहिले नै भएको हो । ओलीजीले नै भेटको प्रस्ताव राखेपछि उहाँहरूको भेटवार्ता भएको हो,” ती नेताले बाह्रखरीसँग भने, “हाम्रो अध्यक्षले बालकोटमा भेट अस्वीकार गरेपछि बालकोट पनि नगरौं कोटेश्वर पनि नगरौँ भनेर छुट्टै ठाउँमा भेट्ने गरी मिलाइएको हो ।”
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा बुधबार नेपालले ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए । उनले बाहिर चर्चामा आएजस्तो आफूलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका छन् । उनले ओलीसँग चार घण्टा छलफल भएको ब्रिफ्रिङ गरेका हुन् ।
“बाहिर आएजस्तो राष्ट्रपतिको प्रस्ताव भएको छैन । अहिले पार्टी एकता गरौँ । त्यसो गर्दा सबैभन्दा ठूलो बन्छ । पार्टीलाई एक बनाएर लैजानुपर्छ,” ओलीको प्रस्ताबारे नेपालले बैठकमा भनेका थिए । तर, अध्यक्ष नेपालले भने ओलीको प्रस्ताव आफूलाई विश्वास नलागेको बताएका छन् । “उहाँले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । भावनात्मक कुराले हुँदैन । त्यसमा विश्वास लागेको छैन,” नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
स्रोतका अनुसार चार घण्टाको बसाइमा अधिकांश समय ओली नै बोलेका थिए । उनले हिजोका दिनमा कोबाट कस्तो गल्ती भयो भनेर पार्टी एकता हुन नसक्ने बताएका थिए । “उहाँ बोलेको बोल्यै गर्नुभयो । मैले सुनिरहेँ । अन्त्यमा म हिँड्न हतार भयो । मेरो कुरा पनि सुन्नुस् न भनेर आफ्ना कुरा राखेर हिडेँ,” नेपालले ब्रिफिङ गरेका थिए ।
अध्यक्ष नेपाल निकट एक नेताले दिएको जानकारीअनुसार प्रचण्डले सहयोग नगर्ने अवस्थामा ओलीको उमेदवार बन्न माधव नेपाल जाने छैनन् । नेपालले पार्टीमा गरेको ब्रिफिङमा अहिलेको अवस्थामा प्रचण्डलाई विश्वासमा नलिइ एमालेको उमेदवार बन्न नसकिने निष्कर्ष सुनाएका थिए । एमालेको मात्रै राष्ट्र बन्दा जित्ने अवस्था पनि नरहेको र ओली–दाहालको सम्बन्धमा चिसोपना आएको बताएका थिए ।
नेकपा एसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि प्रस्ताव नआएको बताए । राष्ट्रपतिका लागि प्रस्ताव आए स्वीकार गर्ने उनको भनाइ छ । सोही पार्टीका उपमहासचिव गंगालाल तुलाधर तिक्ततापूर्ण सम्बन्धका बीचमा भएको भेटलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।
“हामीले यसलाई आइसब्रेकका रुपमा लिएका छौं । लामो समयको तिक्तापूर्ण अवस्थापछि भेट हुनु नै सकारात्मक कुरा हो,” उनले सँग भने । एकीकृत समाजवादीले राष्ट्रपतिबारे सहकार्यका लागि सबै दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ । सरकारलाई विश्वासको मत दिएर विपक्षमा रहेको उक्त दल एमालेसँग पार्टी एकता गरिहाल्ने पक्षमा छैन । पार्टी एकताको प्रस्ताव पनि आफूलाई अलमल्याउने र भावनात्मक कुरा भएको एक पदाधिकारी दाबी गर्छन् । त्यसैले तत्कालिन पाँच दलीय गठबन्धन ब्यूँतने उनको दाबी छ ।
“प्रधानमन्त्रीलाई कांग्रेसले समेत विश्वासको मत दिँदा नै एमाले– माओवादीको सहमति तोडिएको हो । अहिलेको अवस्थामा ओली र प्रधानमन्त्री प्रचण्डबीच निकै दूरी बढेको छ,” ती नेता जिकिर गर्छन्,“कांग्रेसले माओेवादीलाई चार वर्ष नै प्रधानमन्त्री बनाउने गरी सहमति गर्ने आश्वासन दिइरहेको छ । त्यसले राष्ट्रपतिको निर्वाचनबाट पाँच दलीय गठबन्धन नै बन्ने देखिन्छ । हामीले पद नपाए नि कांग्रेसलाई भोट हालिहाल्छौं नि । सभामुख, उपसभामुखमा हालेका होइनौं र? ” त्यसो त उनी एमाले र माओवादीको तर्फबाट राष्ट्रपतिको रुपमा माधव नेपाललाई अघि सारे त्यसमा पनि सहमति हुन सक्ने सम्भावना पनि नकार्दैनन् ।
“एमालेले हामीलाई पार्टी एकता प्रक्रियामा लैजाऔं र तपाईं राष्ट्रपति बन्नुस् भन्दैमा हामी जाँदैनौं । माओवादीले पनि साथ दिने हो भने त्यो प्रस्ताव स्वीकार गर्ने हो,” ती नेता भन्छन्,“ माओवादी बाहिर रहने अवस्था आए हामी उसलाई छाडेर नयाँ शिरामा जाँदैनौं ।”


















