काठमाडाैं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै ‘Ballon d’Or of All Time (BOAT)’ फ्यान भोट जितेका छन्।
फ्रान्स फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्डको ७०औँ वर्षगाँठका अवसरमा फुटबल समर्थकबीच गरिएको मतदानमा रोनाल्डोको सन् २००८ को सिजन सर्वकालीन उत्कृष्ट बालोन डी’ओर विजेता सिजनका रूपमा पहिलो स्थानमा परेको हो। मेसीको सन् २०१२ को सिजन दोस्रो स्थानमा रह्यो।
रोनाल्डोले सन् २००७/०८ सिजनमा म्यानचेस्टर युनाइटेडबाट सबै प्रतियोगितामा ४२ गोल गरेका थिए। सोही सिजन युनाइटेडले इंग्लिस प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उक्त प्रदर्शनकै आधारमा रोनाल्डोले सन् २००८ मा आफ्नो पहिलो बालोन डी’ओर जितेका थिए।
अन्तिम नतिजामा रोनाल्डो र मेसीको वर्चस्व देखिएको छ। शीर्ष १२ स्थान उनीहरूकै विभिन्न बालोन डी’ओर विजेता सिजनले ओगटेका छन्। रोनाल्डोको सन् २०१७ को सिजन तेस्रो, मेसीको २०२३ को सिजन चौथो र रोनाल्डोको २०१६ को सिजन पाँचौँ स्थानमा परेको छ।
तर यो अवार्ड नियमित बालोन डी’ओरको नयाँ आधिकारिक ट्रफी भने होइन। आयोजकले यसलाई समर्थकले इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजन छनोट गर्ने विशेष फ्यान मतदानका रूपमा सञ्चालन गरेको हो। मतदानमा सहभागी हुन शुल्क तिर्नुपर्ने व्यवस्था थियो र समर्थकले एकभन्दा बढी पटक पनि मत दिन सक्थे। आयोजकका अनुसार यसका लागि छुट्टै भौतिक ट्रफी प्रदान गरिँदैन।
रोनाल्डो र मेसीबीच करिब दुई दशकदेखि विश्व फुटबलको सर्वश्रेष्ठ खेलाडी को भन्ने बहस चल्दै आएको छ। ‘Ballon d’Or of All Time’ को फ्यान मतदानमा रोनाल्डोको २००८ सिजनले शीर्ष स्थान पाएसँगै उनीहरूबीचको पुरानो प्रतिस्पर्धामा अर्को रोचक अध्याय थपिएको छ।


















