काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले भौतिक रुपमा प्रचारप्रसार गरेको छैन । पब्लिसिटी भर्चुअल माध्यमबाट गरिएको छ । निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन् । प्रचारको शैली बदलिएको छ ।
फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत ल्याएका थिए । जसले सकारात्मक प्रतिक्रिया बटुलेको छ । माग्ने बुढाले फिल्म प्रचारका लागि चलेका सिरियल हुन् वा चलेका सामाजिक सञ्जालका पेज कुनै प्लेटफर्मलाई उपयोग गर्न बाँकी राखेका छैनन् । दर्शकसँग घुलमिल हुने उनको आफ्नै काइदा हो ।
सलमानको पोस्टरमा माग्ने बुढाको कमेन्ट छ, वेटिङ… हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाईजान ।’ माग्ने बुढाको यो कमेन्टमा प्रशस्तै प्रतिक्रिया प्राप्त भइरहेको छ । कतिपयले फिल्म प्रचारको आइडिया राम्रो भएको बताएका छन् भने कतिपयले सलमानलाई फिल्मको प्रिमियरमा निम्तो दिन आग्रह गरेका छन् ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङको मुख्य भूमिका रहेको हेमराज बीसी निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । राजनीतिक र सामाजिक कथावस्तुको कमेडी फिल्मको लेखन स्वयं दीपकले गरेका हुन् । उक्त मितिमा यो फिल्म नेपालसहित अमेरिका, युरोपलगायत मुलुकमा प्रदर्शन तयारीमा छ ।